१२ चैत, बाजुरा।

नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य तथा पशुपति उच्चमाबिका शिक्षक तुला थापा र सोहि बिद्यालयका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष चरसिंह भण्डारी माथि खुकुरी प्रहार भएको छ ।

बुधवार राति १० बजे बह्रमतोला गाबिस ६ मा रहेको तुला थापाको घरमा खाना खाईरहेको समयमा दुईजना माथि एक्कासि आएका ६ जना युवाहरुको समुहले आक्रमण गरि गम्भिर घाईते बनाएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । शिक्षक तुला थापाको टाउको र हातमा चोट लागेको छ भने भण्डारीको छातीमा चोट लागेको छ । दुबै जनाको अछामको बयलपाटा अस्पतालमा उपचार भईरहेको छ । दुबै जनाको अबस्था गम्भिर रहेको आफन्त भक्त भण्डारीले बताएका छन् । भण्डारीका अनुसार आक्रमणकारीले खुकुरी प्रहार गरि अन्धाधुन्द आक्रमण गरेको जनाएका छन् ।

खुकुरी सहित आक्रमण गर्ने ६ जना मध्ये ४ युवालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक नारायण चन्द्रले वताएका छन् । प्रहरीको नियन्त्रणमा दहकोट गाबिसका राम बहादुर रोकाया, कुल्देबमाण्डौ गाबिसका भिम थापा, बडिमालिका नगरपालिकाका चक्र साउद र बह्रमतोला गाबिसका रमेश प्रसाद जोशिलाई प्रहरीले रातिनै नियन्त्रण लिएको छ । बह्रमतोलाका छत्र रौले र कैलाशमाण्डौ गाबिसका गणेश पाध्याय फरार रहेको तिनिहरुको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ । पशुपति उच्च माबिमा एसएलसि परिक्षा केन्द्र सञ्चालनमा रहेको छ । आक्रमण गर्ने सबै युवाहरु एसएलसि दिने आफन्तको अभिभाबकका रुपमा बह्रमतोला गएका थिए । प्रहरीले भने आक्रमण बारे अहिले जानकारी नभएको छानवीन भईरहेको जनाएको छ ।