१८ चैत, कञ्चनपुर।

कञ्चनपुरको देखतभूली–३ सिगलपट्टिका बुबाछोरी एउटै परीक्षा केन्द्रमा सँगै प्रवेशिका परीक्षामा सहभागी भएका छन् ।

शिव शक्ति माध्यमिक विद्यालय कालागौँडीमा अध्ययनरत ४० वर्षीय गङ्गाराम राना र उहाँकी १७ वर्षीय छोरी उर्मिला रानाले राष्ट्रिय उच्च माध्यमिक विद्यालय पिपलाडीमा रहेको परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन् ।

बुबाछोरी दुवै जना परीक्षामा सहभागी भएको केन्द्रका केन्द्राध्यक्ष मोहनचन्द्र जोशीले बताए । गङ्गारामले उमेर बढी भए पनि उच्च शिक्षा आर्जन गर्न चाहेकाले प्रवेशिका परीक्षामा सहभागी भएको बताए ।

“पढ्नका लागि उमेरले छेक्दैन,” उनले भने, “शिक्षित भएर समाजका लागि उदाहरणीय बन्न चाहेको छु ।” छोरीबुबा दुवै जनाले संयुक्तरुपमा विद्यालय र घरमा प्रवेशिकाको तयारी गरेकाले परीक्षामा सोधिएका प्रश्नको उत्तर लेख्न सहज भएको उनले बताए ।

शिवशक्ति माविका प्रधानाध्यापक लोकराज जोशीले गङ्गाराम बढी उमेरका भए पनि अन्य छात्रछात्राको तुलनामा अब्बल रहेको बताए ।

“कक्षा ८ मा विद्यालयमा भर्ना भएर पढ्दै आएका उनी सधैँ कक्षामा प्रथम श्रेणीमै उत्तीर्ण हुँदै आएकाले प्रवेशिकाको नतिजा पनि उच्च नै रहने आशा गरेका छौँ” – प्रधानाध्यापक पन्तले भने ।

उर्मिला कक्षामा प्रथम श्रेणीमा उत्तीर्ण नहुने भए पनि अनुशासित र मेहनती विद्यार्थी रहेको विद्यालयको शिक्षक भरतराज भट्टको भनाइ रहेको छ । रासस