७ भदौ, भक्तपुर । मारिएका कुखुराको उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै व्यवसायीले गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि उनीहरुको प्रहरीसँग झडप भएको छ । कुखुरापालन व्यवसायी सङ्घ भक्तपुरले तीन दिनअघि घोषणा गरेको आन्दोलनको कार्यक्रम अन्तर्गत आज बिहान ९ बजे दूधपाटीस्थित जिल्ला पशुसेवा कार्यालय घेराउ गरिएकामा आधा घन्टासम्म झडप हुँदा १२:३० बजेसम्म सो क्षेत्र तनावग्रस्त बनेको थियो ।

सङ्घको नेतृत्वमा आएका व्यवसायीका टोलीले नारा लगाउँदै धर्नामा बसेर कार्यालयमा तालाबन्दी गर्न गएपछि प्रहरीले हस्तक्षेप गर्दा दुवै पक्षबीच झडप भएको हो। झडपपछि तनावग्रस्त बनेको सो क्षेत्रमा दूधपाटीबाट काठमाडौँ जाने बन्द सडक १२:३० बजेदेखि मात्र खुलेको थियो ।

व्यवसायी र पशुसेवा कार्यालयका कर्मचारीबीच भएको वार्ता सफल नभएपछि व्यवसायी सरकारविरुद्ध नारा लगाउँदै जिल्ला प्रशासन कार्यालय गएर १ बजेदेखि धर्नामा बसेका छन्। प्रहरी र व्यवसायीबीच झडप हुँदा भक्तपुर नगरपालिका–९ का जगतलक्ष्मी सुवालसहित सात व्यवसायी घाइते भएको सङ्घका अध्यक्ष तुलसीराम धुख्वाले बताP। प्रहरीतर्फ भने बद्री पौडेल, वीरेन्द्र तामाङ र शङ्करराज गिरी घाइते भएको प्रहरीले जनाएको छ।

अध्यक्ष धुख्वाले सरकारले बर्डफ्लु नभएका कुखुरा जथाभाबी मारेको बताउँदै लागत अनुपातमा राहत कम दिनुपर्ने, व्यवसायीले बैंकमा लिएको ऋणको ब्याज मिनाहा गर्नुपर्ने, व्यवसायीलाई पुनःस्थापनाका लागि एक प्रतिशत ब्याजमा ऋणको व्यवस्था गर्नुपर्ने र मारेका कुखुरा र अन्डाको तत्काल राहत रकम दिनुपर्ने माग गरे।

सङ्घका केन्द्रीय सदस्य एवम् भक्तपुरका निवर्तमान अध्यक्ष लक्ष्मण ग्वाछाले सरकारले व्यवसायीलाई दमन गरे देशलाई ठप्प पारिने चेतावनी दिए। कुखुरा मारेलगत्तै क्षतिपूर्ति रकम दिने बताइए पनि सरकारले अहिलेसम्म नदिँदा व्यवसायीले बैंकमा ब्याजसमेत तिर्न नपाएको र बैंकले घरजग्गा लिलाम गर्ने डर रहेको उनले बताए। रासस