२१ भदौ, काठमाडौं।

भदौ मसान्तभित्रमा संविधान जारी गर्ने गरी संविधानको संसोधन विधेयकमाथि मंगलवारदेखि संबिधानसभामा दफाबार छलफल हुने भएको छ । भदौ मसान्तमा नै संविधान जारी गर्ने आन्तरिक कार्यतालिका अनुसार छलफल गर्न संविधानसभाको बैठक बोलाइएको हो ।

संविधानको विधेयकका लागि ५६ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । विभिन्न आन्दोलन झेल्दै र भिन् भिन्न प्रक्रिया पार गर्दै संविधान निर्माणको काम परिमार्जित विधेयकमाथि संशोधन राख्नेसम्म पुगेको छ।

हाल संविधानसभा सचिवालयले संशोधन प्रस्तावहरुलाई एकीकृत गरेर संशोधन प्रस्ताव सहितको विधेयक बनाउने काम गरिरहेको छ । संशोधन प्रस्ताव फिर्ता लिने समय दिने र फिर्ता नलिइएमा तिनलाई मतदानको प्रक्रियाबाट टुङ्गो लगाइने बताइएको छ ।

त्यसलगत्तै संविधानको विधेयकमाथि छलफल गराउने काम शुरु गर्ने संविधानसभा सचिवालयले जनाएको छ । संविधानसभाबाट संविधानको विधेयक पारित गर्न कुल संख्याको २ तिहाई आवश्यक पर्ने छ। हाल संविधानसभामा ५९८ सभासद संख्या रहेको छ ।