१९ जेठ । काठमाडौं
२ जेठदेखि मतगणना भए पनि चितवनको भरतपुर महानगरपालिकाको नतिजा अझै आएको छैन । गत आइतबार मतपत्र च्यातिएपछि स्थगित भएको मतगणना अझै सुरु हुन सकेको छैन ।

आयोगले बिहीबार मात्रै भरतपुरमा ९० मत च्यातिएको पुष्टि गरेको थियो । तर, अब मतगणना गर्ने की पुनः भरतपुरको वडा १९मा मतदान नै गर्ने भन्नेमा आयोगले निर्णय लिन ढिलाई गरिरहेको छ ।

के भन्छन् दलहरु ?
प्रमुख प्रतिपक्षी दल एमाले भरतपुरमा पुन मतगणना सुरु हुनुपर्ने पक्षमा दबाब दिइरहेको छ । माओवादीले वडा १९ मा मतदान गर्न माग गरेको छ । कांग्रेस भरतपुरले सोमबार नै विज्ञप्ति निकालेर मतदान गर्न माग गरेको थियो । तर, कांग्रेस केन्द्रले यसबारेमा बोलेको छैन । भरतपुरको विषयमा बोल्दा सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री पद पर धकेलिने भन्दै कांग्रेसले आयोगलाई दबाब नदिने नीति लिएको छ । आयोगले गर्ने स्वतन्त्र निर्णयलाई मान्ने जनाउ कांग्रेसले दिइसकेको छ । माओवादी केन्द्रले पनि यसबारेमा केही बोलेको छैन ।

आयोग के गर्दैछ ?
निर्वाचन आयोगले तीन सदस्यीय छानविनसमिति बनाएर अनुसन्धान क्रम अघि बढाए पनि अझै निर्णय दिन सकेको छैन । शुक्रबार आयोगले ९० मत च्यातिएको विवरण बाहिर ल्याएको थियो । तर, अझै के गर्ने भन्ने टुगोमा आयोग पुगिसकेको छैन ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आयोगले कुनै पनि विषयमा अहिलेसम्म निर्णय लिन नसकेको जानकारी दिए । आयुक्तहरु छलफलमैं बसिरहेको भन्दै पुनः मतदान की मतगणना भन्नेमा अहिले यसै भन्न नसकिने उनी बताउँछन् । आयोगले हिजै निर्णय गर्ने बताइएको थियो । तर, आज पनि निर्णय गर्ने वा नगर्ने भन्ने टुंगो छैन ।