२४ असार, काठमाडौं ।
भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको सम्बन्धमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ सोमबार हुने भएको छ । न्यायाधीश मीरा खड्का र अनिल सिन्हाको संयुक्त इजलासमा शुक्रबार तोकिएको सुनुवाइ समयको अभावका कारण सोमबार सारिएको हो ।

भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध खुला सदस्यका उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुल्सीराम पाण्डेले निर्वाचन आयोग, भरतपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृतलगायतलाई विपक्षी बनाएर निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । आजको नयाँ पत्रिकामा खबर छ ।

निवेदनमा ९० मतलाई बदर मतको सूचीमा राखी गणना कार्य गर्न–गराउन र पुनः मतदान गर्ने निर्णय बदर गर्न–गराउन माग गरिएको छ । मतगणना भइरहँदा बुथ प्रतिनिधिले ९० थान मतपत्र च्यातेको आरोपमा प्रहरीले माओवादी केन्द्रका कार्यकर्तालाई पक्राउ गरेको थियो भने मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको छ ।

कुल २९ वडा रहेको भरतपुरमा २७ वडाको मतगणना सकिइसकेको थियो । वडा नम्बर १९ का २ हजार ८ सय ६८ मध्ये २ हजार २ सय मत गनिसकेपछि मतपत्र च्यातिएको थियो । सो वडापछि २० नम्बरको मात्र मतगणना बाँकी थियो ।