भ्रष्टाचार, कुशासन, माओवादीको दश बर्षे सशस्त्र द्दन्द्, आमविनाशकारी भुँइचालो लगाएतले नेपालको आर्थिक र सामाजिक विकाशमा प्रत्क्ष्य असर परिरहेको थियो ।

सबै खाले बिषम परिस्थितिहरुलाइ जित्दै, कठिन भन्दा कठिन समयमा पनि धैर्य र संयम अपनाउँदै नेपाल र नेपालीहरु सुखद भविष्य र शान्त नेपालको ब्यग्र प्रतिक्षामा थिए ।

[quote_box_left]

लेखक

राम ढुङ्गाना ‘अल्पमत’

Ram Dhungana Alpamat

[/quote_box_left]

मुलुकले नयाँ संबिधान पाएपछि बिस्तारै देशले शान्तिको स्वास फेर्ला, विकाशले फड्को मार्ला र परिवर्तन हाम्रै जिवनकालमा देखिएला, संविधान बन्यो अब देश अगाडि बढ्ने भयो भन्दै जनताहरुले नयाँ संबिधान घोषणा पछि हर्षोउल्लासका साथ दिपावली मनाए। खुशी भए ।

नेपालीहरुको खुशी असल र रोटीबेटिको सम्बन्ध भएको भनिएको नजिकको छिमेकी देश भारतले देख्न सकेन, उ नेपाल भित्र अस्थिरता मच्चाएर आफ्नो निहित स्वार्थ पुरा गर्न चाहन्छ । त्यसैले हाम्रो देश तराइको आन्तरिक समस्यालाइ कारण देखाइ अघोषित रुपमा नाकाबन्दी नै लगायो ।

एउटा असल छिमेकी भनिएको भारतले अमानवियता र क्रुरता प्रदर्शन गर्यो । जुन साच्चिकै घृणा गर्न लाएकको छ ।

जब भारतले नेपाल बिरुद्द नाकाबन्दी लगायो हाम्रो गर्भ भित्र छट्टपटिरहेको राष्ट्रियता र राष्ट्रवाद जन्मियो र जन्मने बित्तिकै दौडन थाल्यो ।

जनताहरुको राष्ट्रवाद सामाजिक संजालहरुमा  पोखिन थाल्यो भने नेताहरु र मन्त्रीहरुले भाषणमा भारत बिरुद्द राफिलो अभिब्यक्ति दिएर एकाएक राष्ट्रवादी छवि बनाए ।

हामी हरेक नेपालीलाइ नेपालको औधी माया छ । परेको खण्डमा आफ्नो ज्यान माया मारेर पनि शत्रुहरु संग लड्न जान पछि पर्दैनौ, तर यदि म गलत छैन भने हामी मध्ये धेरैको अहिलेको राष्ट्रवाद खोक्रो राष्ट्रवाद हो । जुन भारतलाइ गाली गरेर जोगाइ राखेका छौ ।

यस भित्र अछुत्तो म स्वयं पनि छैन । मैले पनि भारतलाइ धेरै नै गाली गरेको छु ।

हामी कुरा मात्रै ठुला गरिराखेका छौ, कामले र व्यवहारले राष्ट्रवाद प्रमाणित गर्न सकेका छैनौ। र भारतलाइ गाली गर्न बाहेक अन्य कुराहरुमा हामी अगाडि आउनै सकेनौ ।

देशको जर्जर अबस्थासंग भलिभाती परिचित हुदाँहुदै पनि केहि राजनितिज्ञलाइ मन्त्री मात्र भएर पुगेन उपप्रधानमन्त्री नै चाहियो । यसै गरिब देश त्यसमाथी बिनाशकारी भुँइचालोले गरिबहरुको बसोबास उजाडिएको छ, जिउमा लगाउने कपडा समेत छैन, खाने अन्न छैन, राज्य कोष कसरी बचाउने कुन तरिकाले मितब्ययिता अपनाउने त्यतातिर फिटिक्कै सोच छैन । देशका तमाम समस्याहरु माथी नजर अन्दाज गरेर खाली सस्तो भाषण र आफ्नै मात्र दुनो सोझ्याउन ब्यस्त छन् ।

पररास्ट्र मन्त्री कमल थापाले जेनेभामा भारतको नाम नलिइकन भारतीय नाकाबन्दीको बिरोध गरे । रातारात उनी राष्ट्रवादी नेता कहलिए चारैतिरबाट उनको तारिफ भयो। जुन तरिकाले उनले आफ्नो कुरा राखे, नेपाल र नेपालीहरुको समस्या पिडा बाहिरी विश्वलाइ अवगत गराए त्यो काम प्रसंशा योग्य थियो पनि।

तर तिनै कमल थापाले आफ्नो पार्टीको तर्फबाट एउटै मन्त्रालयमा तिन जना मन्त्री सम्म राख्न भ्याय। देशलाइ अनावश्यक आर्थिक भार ।

हिजो सम्म हामीहरुले कुख्यात, खराब, भ्रष्टचारी भनेर गाली गरिरहेको नेताले भारतको बिरुद्दमा दुइ – चार शब्द बोल्ने बित्तिकै उ रातारात राष्ट्रवादी छवि भएको नेतामा परिणत हुन थालेको छ ।

प्रचारमुखी स्वभाव नभएका कर्मले असल ठहरिएका साँचो रुपमा सम्मान गर्नुपर्ने राष्ट्र र राष्ट्रितया प्रति चिन्तित लालबाबु पण्डित चाँहि ओझेलमा पर्छन्। हामी नेपालीहरुलाइ कुनै ठोस काम गर्न पर्दैन खाली नेताहरुको भाषण भए पुगिहाल्छ ।

हामीले भारतलाइ गाली गर्नु भन्दा आफ्नो देश आर्थिक हिसाबले बलियो बनाउन तिर किन नलाग्ने ? उसको देशको सामन हामीलाइ नबेचे नबेचोस्, हामी चाइना संग किनौला बंगालादेश संग किनौला या तेस्रो देश ।

नेपालले भूपरिबेष्ठित मुलुकको रुपमा स्वतन्त्रतापूर्वक पारवहन अधिकार उपभोग गर्न पाउनुपर्ने, त्यो भारतले रोकेकोमा बिरोध गरौ। सामान नदिएकोमा हैन। तेल नदिएकोमा रिस नगरौ।

एउटा सार्वभौम र स्वतन्त्र मुलुक माथी पटक – पटक नाकाबन्दी लगाइरहन्छ। संबिधान बनाएकोमा खुशी मनाउन पर्ने र राम्रो काम गरेकोमा बधाइ दिन पर्नेमा छिमेकीले नाकाबन्दीको उपहार दिन्छ, भने नेपालका तेल बोक्ने ट्यांकरहरु कतिबेला भारतले तेल देला र लिन जाउला भनेर पर्खिरहने हैन। अब तिमीहरुको तेल किन्दैनौ भनेर बहिस्कार गर्ने हो। सरकारी स्तरबाट सिधै भारतीय सामान नकिन्ने प्रस्ताव पास गरौ।

बदलामा बैकल्पिक उपाय सोच्ने, चीनतिर बाटो फराकिलो पार्न लाग्ने, आफै कसरी आत्मनिर्भर र स्वाभिमानी बन्न सकिन्छ त्यसको बाटो पहिल्याउने। दुष्ट छिमेकीलाइ गाली गर्ने हैन ब्यबहारमा आफु कमजोर नभएको साबित गरेर देखाइदिने। घाटा हामीलाइ मात्रै छैन, भारतीय पक्षलाइ पनि उत्तिकै छ। उनीहरुको पनि कैयौ नेपाल लक्षित गरेर खुलेका कलकारखाना बन्द हुन्छ। त्यसमा आश्रित कामदारहरुको रोजगारी गुम्छ । हामीले किन नसोच्ने ।

नेपालले घोषणा गरोस् अब भारतीय सामान चाहिदैन भनेर एक हप्ता भित्र भारत हामी संग सम्झौता गर्न आउँछ ।

भकारीमा धान छउन्जेल कानमा तेल हालेर सुत्ने भकारीको धान जब सकिन्छ अनि झस्यांग बिउँझेर खेतमा डल्ला फुटाउन हिड्ने हामी नेपालीको बानी छ, कहिले रोप्ने कहिले फल्ने कहिले खाने ?

हामीमा दुरदर्शिता फिटिक्कै छैन । अझ नेपाली राजनितिज्ञहरुको भिजन र दुरदर्शिता भनेकै भ्रष्ट्राचार र मोजमस्तीमै सिमित छ ।

युवाहरु एक घण्टाको बाटो हिड्नको गार्होले मोटरसाइकलमा तेल भर्न दश घण्टा सम्म तेलको लाइनमा बस्न सक्छौ, तर एक घण्टा पैदल हिड्न सक्दैनौ , अनि फेसबुकमा आएर भारतलाइ गाली गरेर गहिरो राष्ट्रवाद झल्काउँछौ ।

भारतको नाकाबन्दी बिरुद्द  साच्चिकै डटेर लाग्ने हो र नाकाबन्दीलाइ परास्त गरेर भारतको हैकम र अघोषित दासत्व बाट मुक्त हुने हो भने कुरा हैन काममा ध्यान दिउँ ।

हाल -: इजरायल