८ फागुन काठमाडौं । भारतमा बस दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु भएको छ ।

तिर्थयात्रामा निस्किएका नेपालीहरु सवार बस आज बिहानै सलेम—बैंगलोर राष्ट्रिय राजमार्गमा दुर्घटना भएको भारतीय संचारमाध्यले जनाएका छन् । दुर्घटनामा परी घाईते भएका १८ जनाको सरकारी मोहन कुमारामँगलम मेडिकल कलेजमा उपचार भईरहेको छ ।

प्रहरीका अनुसार नेपालबाट तिर्थयात्रामा गएको एउटा समूह कन्याकुमारीमा पूजा अर्चना गरेपछि बैंगलोर गईरहेका थिए । उनीहरु सवार वस सलेम—बैंगलोर राष्ट्रिय राजमार्गमा नरिपलममा रहेको एउटा मन्दिरमा विश्राम गर्ने योजनासहित सडकमा मोडिन खोज्दा अर्को बसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा ५६ बर्षिय गोपाल तामाङ्ग, ५५ बर्षिय फहतसारी चौधरी र ६० बर्षिय विण्णु दाहालको मात्रै नाम खुलेको छ । तिर्थयात्री मध्ये एक अमरनाथ चौधरीका अनुसार ३४ जनाको समूह नेपालको सुनसरी जिल्लाबाट भारत तिर्थयात्रामा गएका थिए ।