एजेन्सी । लोकसभा चुनावको समीक्षाका लागि बोलाइएको भारतीय काँग्रेसको कार्यसमिति बैठक सम्पन्न भएको छ ।

बैठकमा पार्टी अध्यक्ष राहुल गान्धिले आफूले हारको जिम्मेबारी लिँदै पदमा नरहने अडान यथावत राखेका छन् । उनले राजीनामा दिने बताएपनि उनलाई सोनिया गान्धि, मनमोहन सिंह, प्रियंका गान्धिलगायतले राजीनामा नदिन भन्दै सम्झाएका थिए । चुनावमा हारजितको श्रृंखला चलिरहने भन्दै कार्यसमिति बैठकले पार्टीलाई राहुलको नेतृत्व र मार्गदर्शन आवश्यक भएकाले राजीनामा अस्वीकार गर्ने निर्णय गरेको प्रवक्ता रणदीप सुरजेवालाले बताएका छन् ।

बैठकमा बोल्दै राहुलले भनेका थिए, ‘म पार्टीको अध्यक्ष हुँ र यो हारको जिम्मा लिँदै
मैले राजीनामा दिनु उपयुक्त हुन्छ, तपाइहरुले नयाँ अध्यक्ष चुन्नुपर्छ ।’ तर कार्यसमितिको सर्वसम्मतिले राहुलको प्रस्तावलाई अस्वीकार गरेको प्रवक्ता सुरजेवालाले बताए। सन् २०१४ र अहिले गरी लगातार काँग्रेसले लोकसभा चुनावमा कुनै सुधार गर्न सकेको छैन । चुनावी नतिजाकै कारण कर्नाटक, उत्तरप्रदेश र उडिसामा काँग्रेसका प्रदेश अध्यक्षहरुले राजीनामा दिएका छन् ।