४ भदौ, काठमाडौं ।
भारतीय गृहमन्त्री राजनाथ सिंहले भारत प्रचण्ड नेतृत्वको सरकारसँग नजिक रहेर काम गर्न तयार रहेको स्पष्ट पारेका छन् । उनले भारतले नेपालमा स्थिरता चाहेको बताउदै नेपालको समृद्धिको लागि प्रचण्ड नेतृत्वको सरकारसँग निकट भएर काम गर्न चाहेको बताएका हुन् ।rajnath singh with rishi dhamala

नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग शनिबार विशेष कुरा गर्दै गृहमन्त्री सिंहले भने, ‘भारत नेपालमा स्थिरता भएको हेर्न चाहन्छ, हामी नेपालमा विकास भएको हेर्न चाहान्छौं, त्यसको लागि हामी प्रचण्ड नेतृत्वको सरकारसँग निकट भएर काम गर्न तयार छौं ।’ सिंहले भारत नेपालमा सँधै शान्ति, स्थायित्व र विकास भएको हेर्न चाहएको बताएका छन् ।

यो पढ्नुस्: चिनियाँ राष्ट्रपति नेपाल आउन सकारात्मकः महरा

उनले काँग्रेस–माओवादी केन्द्रवीच बनेको नयाँ गठबन्धनको सरकारले संविधान कार्यान्वयन गर्नेगरि काम गर्नेमा आफू विश्वस्त रहेको समेत स्पष्ट पारे । ‘प्रचण्ड नेतृत्वको सरकारले संविधान कार्यान्वयन गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नेछ भन्ने हाम्रो विश्वास छ,’ उनले अघि भने ।

सिंहले आफूहरु नेपालमा राजनीतिक स्थिरता भएको हेर्न चाहेको उल्लेख गर्दै भने,‘यसबाट मात्रै विकास सुनिश्चित हुन्छ, हामी नेपालको विकासमा हरहमेसा साथ र सहयोग गर्न तयार छौं ।’ सिंहले कांग्रेस र माओवादी केन्द्रबीच भएको सातबुँदे सहमति तथा आन्दोलनकारी दलहरूसँग भएका वार्ता प्रयासलाई आन्तरिक स्थिरताका लागि सकारात्मक कदम समेत भएको टिप्पणी गरेका छन् ।

सिंहले सीमावर्ती क्षेत्रमा एक–आपसमा जनतालाई परेको अप्ठेराबारे दुवै देशका प्रमुख जिल्ला अधिकारीहरूको तहमा कुराकानी भइरहेको भन्दै प्रशंसा गरेका थिए । उनले आतंकवादको विरुद्धमा नेपाल र भारत दुवै देश मिलेर लड्नुपर्ने बताए ।