१८ साउन, काठमाडौ । समानुपातिक निर्वाचन प्रणालीतर्फ सिटसंख्या बढाउनुपर्ने मधेशी दलको मागबारे प्रमुख दलका शीर्ष नेता सम्मिलित उच्चस्तरिय राजनीतिक समितिमा विबाद भएको छ । एकीकृत माओवादी मधेशी मोर्चाको मागमा सहमत भएपनि नेपाली कागे्रस र एमालेले सहमति जनाउन नसकिने बताएका थिए ।

समितिको कार्यालय बानेश्वरमा बसेको उच्चस्तयिर समितिको बैठकमा निर्वाचन क्षेत्र निर्धारण, समानुपातिक प्रणालीको सिटसंख्या बढाउनुपर्ने मधेशी दलको मागमा कुरा भएपनि सहमति जुटन सकेन । भोली पुनः बस्ने बैठकले यसवारे सहमति कायम गर्ने एमाओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

मंसीर चारको चुनाव आउन चार महिना भन्दापनि कम समय रहेको समयमा मधेशी मोर्चाले समानुपातिक तर्फको सिटसंख्या बढाउन प्रस्ताव गरेपछि दलहरु विबादमा अल्मलिएका हुन । कागे्रस एमालेले मधेशी मोर्चाको माग मंसीरको चुनाव परसार्ने नियतवाट आएको आरोप लगाएका थिए । सोही बिषयलाइ लिएर बैठकमा विबाद भएको बुझिएको छ । असन्तुष्ट दलसंग ठूला दलले छुट्टा छुट्टै छलफल गर्ने बारेपनि आज छलफल भएको छ ।

जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने मधेशी मोर्चाको मागमापनि दलहरुबीच सहमति जुटन सकेन । मतदाता नामावली संकलनको लागि पुनः आह्वान गर्ने बिषयमा पनि कुरो मिल्न नसकेको बैठकमा सहभागि एक नेताले बताए ।