१८ साउन, ललितपुर । भौतिक सुविधामा सहरी गरिबको पहुँचमा वृद्धि गर्न क्रियाशील लुमन्ती आवासका लागि सहयोग समूहले ललितपुरको धोबीघाटमा रु दुई करोड २५ लाखको लागतमा सस्तो आवास भवन निर्माण गरेको छ ।

नवनिर्मित चारतले भवनका २४ कोठामध्ये प्रतिपरिवार एउटा मात्र कोठा भाडामा दिइने सार्वजनिक सूचना जारी भएपछि इच्छुकको निवेदन प्राप्त भइसकेको आवास सहयोग समूहका कार्यकारी निर्देशक लजना मानन्धरले बताए ।

आकासेपानी सङ्कलन प्रविधि र बिजुलीको विकल्पका लागि सौर्यशक्ति जडान गरिएको भवनमा कोठा भाडामा दिनका लागि परिवार छनोट गर्न ललितपुर उपमहानगरपालिकाका प्रतिनिधि, स्थानीय टोल सुधार समिति, पत्रकारसमेत सम्मिलित समिति गठन भएको मानन्धरले जानकारी दिए ।

न्यून आय भएका कम्तीमा दुई र बढीमा चार जनाको परिवार सङ्ख्या भएको, कुनै पनि फौजदारी अभियोगका मुद्दा नचलेको, असल चालचलन भएको, बाहिर जिल्लाबाट रोजगारको सिलसिलामा राजधानीमा बस्दैआएको वा वैदेशिक रोजगारीमा गएकाहरुको परिवारलाई भाडामा दिइने मापदण्ड बनाइएको लुमन्ती आवासका लागि सहयोग समूहका अध्यक्ष प्रफुल्लमानसिंह प्रधानले जानकारी दिए ।

धोबीघाटमै ३० कोठाको भएको अर्का भवनको निर्माण गर्ने दोस्रो चरणको कार्यक्रम पनि थालनी गरिसकिएको जनाउँदै उहाँले सहरी क्षेत्रका गरिबका लागि यस्तो आवास कार्यक्रम सरकारले पनि सञ्चालन गर्न लुमन्तीले ध्यानाकर्षण गराइसकेको बताए ।

लुमन्तीले तयार पारेको भवन गुणस्तर र सेवासम्बन्धी स्थलगत अनुगमन गर्न पुग्नुभएका सहरी विकास मन्त्रालयका सचिव किशोर थापाले राष्ट्रिय आवास नीति र घरभाडा आचारसंहिताअनुसार पहिलो पटक निजी तवरबाट प्रभावकारी कार्यान्वयन भएको पाइएको बताए । रासस