ईश्वरी काफ्ले

१८ मंसिर, काठमाडौं । सुनिदैछ अहिले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावमा मधेस केन्द्रित दलका नेताले परिमार्जनको माग गरेका छन् । दुई नम्वर प्रदेशमा सुनसरी, मोरङ र झापाका मधेसी बहुल दक्षिणी क्षेत्र थप्नु पर्ने माग गरेका समाचार छ ।

प्रदेशको सीमांकनलगायतका विषयमा असन्तुष्टी जनाउँदै मधेस केन्द्रित दलको आव्हानमा प्रदेश नम्वर दुईमा आन्दोलन भयो । हुन त पश्चिम नेपाल ‘कैलाली’ का थारू समुदायले पनि थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनमा सुरक्षाकर्मीहरू पनि मारिए । तर, सरकारले संविधान संशोधनका नाममा ५ नं. प्रदेश टुक्र्याउने प्रस्ताव गरेको छ । त्यसमा न कैलालीलाई मुछिएको छ न त प्रदेश नम्वर दुईमै कुनै थपघट ।

New Nepal 7 pradesh

विगतको आन्दोलनमा पनि यो ५ नम्वरलाइै खासै छोएको थिएन । अनि, दुई नम्वर र ७ नम्वर प्रदेशको असन्तुष्टीलाई ५ नम्वर प्रदेश टुक्र्याएर समाधान खोज्नु टाउको दुखेको ओषधी नाइटोमा दल्नुजस्तै हो । प्रदेशको सीमांकन गर्दा दुई नम्वर प्रदेशलाई हेंला, होचोमा पारिएको, यो विभेदमा परेको कुरा व्यक्तिगत कुराकानीमा कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूनै स्वीकार्छन । यसर्थ सीमांकन फेरबदल गर्दा दुई नम्वर प्रदेश प्राथमिकतामा पर्नु पर्ने हो । तर, त्यसो भएन ।

प्रदेश नम्वर दुईमै छन् मधेस केद्रित दलका अधिकांश शिर्ष नेता । तर, अहिले उनीहरू आफ्ै जन्मेको माटो र भूगोलभन्दा ‘पद’को चिन्तामा लागेको देखिन्छ । होइन भने भित्री मधेसको कुरै नगरी सुनसरीको मोरङको त्यो पनि दक्षिणी भेग थप्ने कुरा आउने थिएनन् । केही समयअघि राष्ट्रिय मधेस समाजवादी पार्टीका शरतसिंह भण्डारीले पनि भनेका थिए, ‘चुरे विनाको मधेसको कल्पना गर्न सकिन्न ।’ राजेन्द्र महतो बाहेक सबैले मधेसमा चुरे हुनै पर्ने बताउँदै आएका थिए । अहिले मधेस केन्द्रित दल के कारणले चुरेको दावी नगरेको बुझी नसक्नु छ ।

चुरे पर्वत श्रृंखला पूर्व–पश्चिम फैलिएको छ । यो पर्वत स–साना ढुंगा र वालुवाले बनेको छ । औलो उन्मुलन भएपछि पहाडबाट वसाईं सरेर खोरिया फाँडेर यस क्षेत्रमा मानिसहरू बस्न थालेपछि बन विनास हुँदै गयो । फलस्वरुप तिब्र गतिमा चुरेको भू–क्षय हुन थाल्यो । बालुवा र स–साना गिट्टीले बनेको पहाडको क्षय हुँदा बालुवाकै हुनु स्वभाविक हो । यसरी चुरे क्षय हुँदै नदीमा बग्दा १० किलोमिटर दक्षिणदेखि नै नदीको सतहमा थेग्रिन पुग्यो र यो क्रम जारी छ ।

यसरी नदीको सतहमा बालुवा थेग्रिने क्रमले वर्सेनी २० देखि २५ सेन्टिमिटर नदीको सतह उकासिदै गएको इन्जिनीयरहरू बताउँछन् । फलस्वरुप मधेसका अधिकांश नदीको सतह जमिनको सतहभन्दा एक मिटरमाथि सम्म उठेको जो कोहीले देख्न सक्छ । यो क्रमले मधेसको उर्वर भूमि क्रमशः मरुभूमिकरण हुँदै गएका छन् । वर्षामा नदीमा वाढी आउँदा खेतियोग्य जमिन र वस्ती भएर वग्ने गरेको छ । सरकारले ‘जनताको तटवन्ध’ कार्यक्रम अन्तर्गत वर्सेनी तटवन्धका लागि वजेट छुट्याउने गरेको छ । यो वजेटले नदीको दुवै किनारामा तटवन्ध गरेर भारतीय सीमासम्म पु¥याएको महोत्तरी, धनुषा र सर्लाहीमा देख्न सकिन्छ ।

चुरेको व्यवस्थित संरक्षण गर्न नसके मधेसलाई मरुभूमिकरणबाट कसैले रोक्न सक्दैन । अहिले मधेसका नदी बालुवाले भरिएका छन् । पानीका मुहानहरू सुकेका छन् । करोडौ राज्य कोष खर्चेर बनाइएको महोत्तरीको पच्याइन सिंचाई आयोजनामा अहिले कमिला हिडन थालेका छन् । त्यसैले एमालेका शत्रुघन महतो, शितल झालगायतका सांसद्हरूले कमसेकम चुरेलाई मधेसबाट अलग नगरियोस भन्ने माग गरेका थिए । यसमा शरतसिंह, महन्थ, महेन्द्रहरू पनि सहमत थिए ।

सहमत थिएनन् र छैनन् । चुरेको सबै भू–भाग २ नम्वरमा राख्दा उदयपुर, सिन्धुली र मकवानपुरका आधाजसो भाग पर्ने हुन्छ । यस क्षेत्रमा स्वभाविकरुपमा पहाडी समुदायका मानिसको बसोवास छ, यसकारण राजेन्द्र महतोहरू तर्सिएका छन् ।

अधिकांश मधेसी जनता चुरे मधेसमै हुनु पर्ने बताउँछन् । तर, मधेस केन्द्रित दलका नेता सुनसरी र मोरङको मधेसी बहुल भेगमा आँखा पु¥याउँछन् आफ्नै घडारीको साँध चुरेतिर टाउको उठाएर हेर्न पनि चाहदैनन् । तर, अब केही नेताको पदको स्वार्थलाई सिंगो मधेसको भूमि साट्न सकिन्न । भौगोलिक बनावट पनि हामीलाई पहाडी–मधेसी मिलेर बस्न अह्राएकोे छ । अहिले त अधिकारको नाममा मधेस केन्द्रित दलको लहै लहैमा लाग्नेहरूले पछि तीनै नेतालाई धारे हात लगाएर पछुताउनु बाहेक केही बाँकी रहने छैन । क्रमश ः मधेसको मरुभूमिकरणलाई रोज्नेकी मधेसको उर्वरतालाई कायम राख्न चुरेसहितको मधेस प्रदेश खोज्ने उनीहरूकै जिम्मा ।