५ माघ, काठमाडौं । नेपाल वायु सेवा निगमका अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन् । आइतबार खरेललले पर्यटनमन्त्री योगेश भट्टराईलाई राजीनामा बुझाएका हुन् ।

मन्त्रीको चर्को असन्तुष्टिकाबीच उनले राजीनामा बुझाएको स्रोतले बताएको छ । ‘खरेलजीको राजीनामा आएको छ’, मन्त्री भट्टराईनिकट श्रोतले भन्यो,‘उहाँको काम चित्त बुझ्दो नभएपछि बाटो खाली गरिदिन भनिएको थियो ।’

मन्त्री भट्टराईले पटक–पटक हटाउनसक्ने चेतावनी दिइरहँदा राजीनामा बुझाएर खरेल बाहिरिएका हुन् । निगमको बढ्दो घाटा, वाइडबडी विमानका लागि गन्तव्य खोज्न नसक्नु लगायतका कारणले उनीमाथि पद छाड्न दबाब बढेको थियो ।

झापाका खरेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा ३१ भदौ २०७५ मा मन्त्रिपरिषद् बैठकबाट निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको थियो । जतिबेला महाप्रवन्धक सुगतरत्न कंशाकार कार्यकारी भूमिकै थिए ।

खरेलको नियुक्तिले कंशाकारको कार्यकारी भूमिका खोसियो । यद्यपि कंशाकार बाँकी रहेको ८ महिने कार्यकाल पुरा गरेर मात्र बाहिरिए । खरेलले भने कार्यकाल पूरा गर्न पाएनन् ।

नियुक्ति गर्दा खरेललाई वायुसेवा निगमले भित्राएका दुई वाइडबडीसहित सबै जहाजको पूर्ण क्षमतामा सञ्चालन गर्ने, व्यवसायिक योजना बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्ने जिम्मेवारी दिएको थियो ।