१७ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुधबार दोस्रो पटक सिंगापुरबाटै मन्त्रीपरिषदको बैठक गरेका छन् ।

यसअघि कार्यवाहक तोकेर पनि मन्त्रीपरिषद् बैठकको अध्यक्षता गरेको भन्दै आलोचना भएपछि यसपछि मन्त्रीपरिषद बैठक भनिएको छैन । प्रधानमन्त्रीले टेलिप्रिजेन्समार्फत् सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको एक्सन रुममा रहेका कार्यवाहक प्रधानमन्त्री इश्वर पोखरेलसहित मन्त्रीह्रुसँग विभिन्न विषयमा जानकारी लिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले जानकारी दिए ।

मन्त्रीहरुका कुरा सुनेपछि प्रधानमन्त्रीले निर्देशन दिएको उनले बताए । सिंगापुरमा रहेका प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्ण रिमालले पनि प्रधानमन्त्री ओलीले आफ्नो क्याबिनेटका सदस्यहरुसँग सरकारका कामबारे छलफल गरेको बताएका छन् । प्रधानमन्त्रीले आफ्नो उपचार र स्वास्थ्यबारे पनि मन्त्रीहरुलाई जानकारी गराएका थिए । भदौ ५ गते सिंगापुर गएका प्रधानमन्त्री ओली आगामी शुक्रबार स्वदेश फर्कने तयारी गरिरहेका छन् ।