८ मंसिर, एजेन्सी । भारतको महाराष्ट्रमा विधान सभाको निर्वाचन सम्पन्न भएको करिब एक महिनापछि भारतीय जनता पार्टीका नेता देवेन्द्र फडणवीसले मुख्यमन्त्री पदको शपथ लिएका छन् । ११ दिनअघि सरकार गठन गर्न असफल भएको भन्दै मुख्यमन्त्रीबाट राजीनामा दिएका फडणवीस पुनः मुख्यमन्त्री बन्न सफल भएका हुन् ।

गत अक्टोबरमा भएको विधानसभा निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नल्याएपछि सरकार गठन हुन सकेको थिए । निर्वाचनमा गठबन्धन बनाएर लडेका भारतीय जनता पार्टी र शिवसेनाबीच सरकार गठनमा सहमति बन्न नसक्दा राजनीतिक संकट चुलिएको थियो ।

महाराष्ट्रमा शिवसेनाले आधा कार्यकाल मुख्यमन्त्री पद मागेपछि भाजपाले त्यसलाई अस्वीकार गरेको थियो । भाजपाले मुख्यमन्त्री नदिएपछि शिवसेनाले कांग्रेस र एनसीपीसँग मिलेर सरकार गठन गर्न प्रयास गरेपनि त्यो असफल भएको हो ।

सरकार गठनका लागि कांग्रेस अध्यक्ष सोनिया गान्धी, शिवसेनाका प्रमुख उद्धव ठाकरे र एनसीपीका नेता शरद पवारबीच छलफल भएर पदीय भागबण्डा समेत भइसकेको अवस्थामा पुनः भाजपा नेतृत्वमा आश्चर्यजनक रुपमा सरकार बनेको छ ।

शनिबार बिहान भाजपा नेता देवेन्द्र फडणवीसले मुख्यमन्त्री पदको शपथ खाएका थिए भने एनसीपीका नेता अजित पवारले उपमुख्यमन्त्री पदको शपथ लिएका छन् । उनीहरुले शपथ लिएपछि महाराष्ट्रमा राजनीतिक हलचल झनै तीव्र बनेको छ ।

फडणवीसलाई मुम्बईमा भाजपाका कार्यकर्ताहरुले स्वागत गरेका थिए । उनले महाराष्ट्रमा पाँच वर्षसम्म स्थिर सरकार दिने बाचा गरेका छन् । शुक्रबारसम्म सरकार गठनका लागि अन्य पार्टीहरुबीच छलफल चलिरहेका बेला शनिबार बिहानै राजभवनमा फडणवीस र पवारले शपथ लिएर सबैलाई चकित पारिदिएका थिए ।

नयाँ गठबन्धनबारे कसैले अनुमान समेत लगाएका थिएनन् । अब उनीहरुले विधानसभामा बहुमत साबित गर्नुपर्ने चुनौती रहेको छ । महाराष्ट्रमा २८८ सदस्यीय विधानसभा रहेको छ । जसमा भाजपाको १०५ सिट छ भने शिवसेनाको ५६, कांग्रेसको ४४ र राष्ट्रवादी कांग्रेस (एनसीपी) को ५४ सिट रहेको छ । यस्तै बहुजन विकास अघाडीसँग तीन सिट, अल इन्डिया मजलिस–ए–इत्तेहादुल मुस्लमिन, प्रहर जनशक्ति पार्टी र समाजवादी पार्टीसँग २–२ र १३ जना स्वतन्त्र सांसद रहेका छन् ।

एनसीपीका नेता अजित पवारले उपमुख्यमन्त्रीको शपथ लिएपनि सो पार्टीका प्रमुख शरद पवारले भने यो पार्टीको निर्णय नभएको बताइसकेका छन् । भारतीय जनता पार्टीले भने एनसीपीका सबै विधायकको समर्थन रहेको दाबी गरेको छ ।

महाराष्ट्रको दोस्रो ठूलो पार्टी शिवसेनाले भने फडणवीस मुख्यमन्त्री र अजित पवारले उपमुख्यमन्त्री पदको शपथ लिएपछि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।