२१ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको पोलिट्व्युरो बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा तालमेल र पार्टी एकीकरण गर्ने सहमतिको स्वागत गर्ने निर्णय गरेको छ ।

काठमाडौंको प्रर्दशनीमार्गस्थीत राष्ट्रिय सभा गृहमा आज बसेको माओवादी केन्द्रको प्रशिक्षण सहितको पोलिट्व्युरो बैठकले एमालेसंग भएको सहमतिलाई स्वागत गरेको हो । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँग पार्टी एकताको प्रस्ताव आफूले नै गरेको बताएका थिए ।

उनले अब बाम गठबन्धनलाई आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा विजयी हुन कसैले रोक्न नसक्ने दाबी गर्दै लोकतान्त्रिक विधिभन्दा बाहिर नजाने बताए । हिजोमात्रै आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ता गरेको जानकारी दिँदै दाहालले सरकारलाई दिएको समर्थन कायमै रहने स्पष्ट पारेको पनि बैठकमा जानकारी गराएका थिए ।

बैठकले तालमेल र पार्टी एकीकरण गर्ने माओवादी, एमाले र नयाँ शक्ति गरी ३ दलको मंगलबारको सहमतिलाई अनुमोदन समेत गरेको छ । बैठकले ती सहमतिलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने निर्णय पनि गरेको बैठकपछि नेताहरुले जानकारी दिएका छन् ।

बैठकमा नेता रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ लगाएत शिर्ष नेताहरुले तालमेल र एकताको सहमति ऐतिहासिक कदम भएको भन्दै नेपाली कम्युनिष्ट आन्दोलनमा चमत्कार भएको धारणा राखेका थिए ।