ब्लुटूथ प्रविधि मोबाइल, कम्प्युटर देखि अधिकांश यन्त्रमा जडान गरिएको हुन्छ। यो प्रविधिको प्रयोगले छोटो दुरीमा रहेको कुनै अर्को ब्लुटूथ जोडिएको यन्त्रसंग सञ्चार सम्पर्क गरेर डेटा पठाउन वा प्राप्त गर्न सक्छौँ। यसको लागि तारको आवश्यक्ता पर्दैन। ब्लुटूथ हरेक स्मार्टफोनमा त हुन्छ नै आजकाल ब्लुटूथको प्रयोग स्मार्ट घडि, हेडफोन र अन्य यन्त्रहरुमा गर्न थालिएको छ।

ब्लुटूथको आविस्कार १९९४मा भएको थियो। जुन बखत यो प्रविधि सबैभन्दा छिटो, भरपर्दो छोटो दुरीको लागि राम्रो सञ्चार माध्यम मानिएको थियो। साना साना आकारका फाइलहरु ब्लुटूथ प्रयोग गरेर पठाउन वा प्राप्त गर्न सजिलो र छिटो हुन्छ तर ठुला ठुला फाइलहरु ब्लुटूथ प्रयोग गरेर पठाउन त्यति उपयुक्त हुदैन।

फाइलको आकार कसरी नापिन्छ?

सबैभन्दा सानो एकाइ बीट(Bit) हो।
१ बिटमा एउटा मात्र (1 or 0) डिजिटल डाटा अट्छ।
८ बिट बराबर १ बाइट हुन्छ।
१०२४ बाइट बराबर १ किलोबाइट हुन्छ।
१०२४ किलोबाटइ बराबर १ मेगाबाइट हुन्छ।
१०२४ मेगाबाइट बराबर १ गिगाबाइट हुन्छ।
१०२४ गिगाबाइट बराबर १ टेराबाइट हुन्छ।

 

ब्लुटूथद्वारा मोबाइल र ईयरपिसको सम्पर्क

ब्लुटूथद्वारा मोबाइल र ईयरपिसको सम्पर्क

क्यालिफोर्नियाको विश्वविद्यालयमा गरिएको एक अनुसन्धानमा एक नयाँ सञ्चार प्रविधिको प्रोटोटाइप तयार भएको छ। यो यन्त्र अहिले प्रयोगमा हुने जुनसुकै सञ्चार माध्यम भन्दा पनि छिटो हुने र यसको सञ्चार माध्यम मानिसको शरीर हुनेछ।

विशेषज्ञहरुले यस प्रविधिलाई ‘चुम्बकिय क्षेत्र मानविय शरीर सञ्चार'(magnetic field human body communication) नाम दिएका छन्। यस प्रविधि अनुसार कुनै यन्त्रबाट चुम्बकिय शक्ति पठाउन मानिसको शरिरलाई माध्यमको रुपमा प्रयोग गरिन्छ। यो प्रणालीले काम गर्नको लागि यन्त्रहरु स्प्रिङ(spring)जस्तो गोलो आकारको (तस्बिरमा देखाईएको जसतो) हुनुपर्छ जसले गर्दा शरिरमा सजिलै चुम्बकिय शक्ति पठाउन सकिन्छ।

coil around arm

शरीरबाट चुम्बकिय शक्ति पठाउन हातमा स्प्रिङ आकारमा बेरिएको तार

ब्लुटूथ भएका यन्त्रहरु बिच रेडियो तरङ्गद्वारा सञ्चार हुन्छ। तर यी तरङ्गहरु बाटोमै  बिभिन्न कारणले छेकिन्छन्। यी छेक्ने बस्तुहरुमा हाम्रो शरीर पनि पर्दछ। यो प्रक्रियालाई ‘पाथ लस'(path loss) भनिन्छ जसको मतलब डाटा पठाउदा अर्को यन्त्रमा पुग्नु अघि नै विभिन्न वस्तु वा वातावरणीय अवस्थाको कारण सञ्चारमा वाधा पुग्नु हो। त्यसैले गर्दा कतिपय ब्लुटूथ सम्पर्कहरु, डेटा पठाउने र पाउने क्रमको बिचमै टुट्छन्।

मानिसको शरीरलाई माध्यम बनाईएको यो प्रविधिमा चुम्बकिय शक्तिलाई शरीर भित्रबाट पठाएर ‘पाथ लस’लाई धेरै मात्रामा कम गर्न सकिन्छ। वैज्ञानिकहरुको अनुसार यस प्रविधिको प्रयोगले ब्लुटूथ भन्दा १ करोड गुणाले ‘पाथ लस’ कम गर्न सकिन्छ।  यसमा प्रयोग हुने चुम्बकिय शक्ति हस्पिटलमा प्रयोग हुने एमआरआई स्क्यान(MRI scan)को शक्तिभन्दा कम हुन्छ। त्यसैले यस प्रविधिले हाम्रो शरीरमा पनि कुनै नराम्रो असर गर्ने छैन।

एमआरआई स्क्यानको विवरण

एमआरआई स्क्यानको विवरण

एमआरआई स्क्यानलाई शरीरको भित्री भागको तस्बिर निकाल्न प्रयोग गरिन्छ। यसमा एक विशाल चुम्बकको प्रयोगले शरीरमा चुम्बकिय शक्ति पठाईन्छ र यसबाट शरिरको कुन भागमा कस्तो खराबी छ भन्ने विवरण प्राप्त हुन्छ।

यो प्रविधिको प्रयोगमा कम पावरको खपत हुन्छ। यसको अर्को फाईदा, जानकारीको सुरक्षा हो। हावामा पठाईने रेडियो तरङ्गलाई बिभिन्न डिजिटल यन्त्रहरुले हस्तक्षेप गर्न सक्छन्। यस प्रविधिमा शरीरलाई माध्यम बनाएपछि कुनै अर्को यन्त्रले सञ्चारमा हस्तक्षेप गर्ननसक्ने वैज्ञानिकहरु बताउँछन्।