१८ भदौ, भक्तपुर

एनेकपा (माओवादी)का प्रवक्ता दीनानाथ शर्माले भदौ महिनाभित्रै नयाँ संविधान जारी हुने दावी गरेका छन् ।

भक्तपुरमा आयोजना गरिएको अन्तक्रियामा बोल्दै उनले संविधान जारी गर्न नदिने षड्यन्त्र भए पनि भदौ महिनाभित्र संविधान जारी गर्न कसैले रोक्न नसक्ने दावी गरेका हुन् ।

संविधानसभाबाटै संविधान जारी हुनुपर्ने बताउँदै उनले त्यसका लागि एमाओवादी लचक भएको पनि जिकिर गरे ।

Dinanath Sharma 2.14

छलफल र सहमतिका लागि एमाओवादीले मधेसवादी दलका नेताहरुसँग औपचारिक तथा अनौपचारिक छलफल चलाएको बताउँदै प्रवक्ता शर्माले भने – “सहमतिका लागि मधेसवादी दलका नेताहरुसँग एमाओवादीका नेताहरुले बृहत् छलफल चलाएका छन् – भोलिसम्ममा निष्कर्षमा पुग्छ ।”

संविधान जारी गर्न नदिन विभिन्न क्षेत्रबाट षड्यन्त्र भइरहेको बताउँदै उनले थारुहरुको जायज मागलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्ने बताए ।

तराईमा चर्किएको आन्दोलनमा एमाओवादीको घुसपैठ नभएको दाबी गर्दै उनले भारतबाट घुसपैठ भएको हो भने सरकारले नाकामा कडाइ गर्नुपर्ने भनाइ थियो ।

सरकारमा बस्ने व्यक्तिहरुले हचुवाका भरमा आन्दोलनमा भारतको घुसपैठ छ भन्नु नै गलत भएको जिकिर गर्दै प्रवक्ता शर्माले भन्नुभयो – “भारतको घुसपैठ रोक्न सरकारले सिमानामा निगरानी बढाउनुपर्छ, भारतसँग घुसपैठ रोक्न आग्रह गर्नुपर्छ, सरकारमा बस्नेले अनधिकृत रुपमा बोल्नुहुन्न ।”

तराईमा स्वार्थका लागि केही तत्वहरु सक्रिय रहेको चर्चा गर्दै उनले त्यस्ता समूहसँग सरकार सतर्क रहनुपर्ने औँल्याए । रासस