सरोजा गौतम ।

नेपाल एक बहुजातीय बहुधार्मीक बहुसास्कृतिक एक सार्वभौम सत्ता सम्पन्न अविभाज्य स्वतन्त्र मुलुक हो । नेपालीमा रहेको एकता बीरता र भातृत्व प्रेमको नमुना विश्वमा चर्चित छ ।

विडम्बना शान्तिका दुत गौतम बुद्धको यो देश दशकौं देखिको अपेक्षाकोरुपमा हेरिएको संविधान जारी हूँदा पनि पुरै रमाउन सकेको छैन । खुसीमा रमाउनु पर्ने यो क्षण पनि त्रास पूर्ण अवस्थाबाट गुज्रिरहेको छ ।

Saroja Gautam 1

लेखिकाः सरोजा गौतम

हामी नेपालीमा रहेको एकता दरिलो हुँदै जानु पर्नेमा लडाइ झगडामा परिबर्तन हुन पुगेको छ । अझ बिडम्बना त हामी मध्ये कतिपय त्यसैमा मलजल गर्न तल्लिन छौं । सायद तेसैले होला आज हामी हर्षमा पनि हाँस्नसकेका छैनौं र खुसी हुनु पर्ने क्षणमा अनिश्चित जीवन भोगाइमा जिएका छौं |

देशको दृष्य हेर्दा लाग्छ नेपाल आमाका ४ भाइ छोरा मध्ये कान्छो छोरो मुडोझैँ लडीरहेको छ । माइलो छोरो दीपावलिको तयारीमा छ र जेठो चाँहि अस्पताल शैया बाटै मृत्युसँग संघर्ष गर्दैछ । उता काँहिलो चाँहि जिउँदै जलेर खरानी भइ भड्किरहेको छ ।

नेपाल आमा टोलाइरहेकी छिन्, न त उनी कान्छोको दु:ख बोकेर रुन सकेकी छिन्, न त नै माइलो को खुसी बोकी हाँस्न सकेकी छिन् । नेपाल आमा त कतै खोला किनारको डिलमा बसेर राजनीतिक सकस हेरिरहेकी छिन् । बहुलाइ आइमाइ जस्तै रमिते बनेर । मलाई लाग्यो म त्यस्तै आमा बनिरहेको छु । यही भोगाइले देशले दशकौं देखि सघंर्ष गरेर नयाँ संविधान पाउँदा पनि दीपावली गर्न सकिन ।

चाहे मधेसी, चाहे पहाडी, चाहे हिमाली हामी सबै नेपाली । छिमेकी चौधरीको घर शोकाकुल हुँदा हामीलाइ जुठो लाग्छ र दाजु साइनो जोड्दै हामी दु:ख साट्छौं । पल्लो घरको मधेशी संस्कृति मान्ने दिदीले छ्ठ व्रत बस्दा हामीसंगै सुर्यलाइ अर्घ दिन्छौं । घरमा मिठो तरकारी पाक्दा सहनी दिदिलाइ ‘खानु है’ भन्दै भान्सा साट्छौं । पल्लो घरमा बनेको तरुवा नखाइ खानै रुच्दैन हामिलाई । नेवार्नी दिदले बनाएको छोइलाको स्वादले हामीबीचको प्रेमलाई आझ दरिलो बनाएको छ ।

तर आज हाम्रो देशमा जातीयताको बिज रोपेर राजनीतिको जग बसाल्नेहरुले हामी बीचमा भएको प्रेमलाई भाड्न खोज्दै छन् । यो कदापी सम्भब छैन । हामीले यस्ता राजनीति दल र नेताहरुलाई एक मुठी चामल दिई सधैको लागि बिदा गर्ने सामर्थ्य राख्नु पर्छ । बीर नेपालीको इतिहास त्यति कमजोर छैन । भीमकाय २ देशबीचमा रहेको देशका हामी दुई ढुंगाबीच रहेपनि आफ्नो स्वाभिमान गुमाएका छैनौं ।

आज देशमा रहेका अशान्तिकै नाममा देशको सार्वभौमिकता माथि धावा बोल्ने कोशिस भैरहँदा । मेरो माइतीमा आन्दोलनकारीलाई गोली लागेर ढलेको खवर आइरँदा म काठमाडौंमा बसेर कसरी दीपावली गर्न सक्छु?

टेलिभिजनमा कर्फ्यू लागेका र गोली चलेका समाचारकाबीच दीपावलीको आह्वान भैरहँदा सम्झिँदा अमिलो र बोझिलो मन लिएर मैले दीपावली गर्न सकिन । मलाई माफ गर दीपावली नगरेपनि म नयाँ संविधानको विरोधी होइन । म त नयाँ संविधानमा सम्पूर्ण नेपालको खुसी खोजिरहेकी छु ।