२९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेको नौ दिन पुगेको छ । नवौं दिनसम्म आइपुग्दा प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

आज प्रेस विज्ञप्ती जारी गर्दै अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेमकृष्ण खड्गाले उनको स्वास्थ्य सामान्य र सुधारोन्मुख रहेको उल्लेख गरेका छन् । मिर्गौला प्रत्यारोपणपछि गरिने नियमित परीक्षणहरुलाई निरन्तरता दिइएको उल्लेख गर्दै उनले परीक्षणका नतिजाहरु पनि सामान्य र सुधारोन्मुख नै आइरहेको उनको भनाई छ ।

प्रधानमन्त्रीका भाइटल तथा ल्याब सूचकहरु पनि राम्रो रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीले अहिले नियमित आहार खाइरहेका छन् । उनलाई मिर्गौला दान गरेकी उनकी भाञ्जी समीक्षा संग्रौला हिजै डिस्चार्ज भइसकेकी छिन् । तर प्रधानमन्त्रीको डिस्चार्जबारे भने अस्पतालले कुनै जानकारी दिएको छैन । प्रधानमन्त्रीको अघिल्लो बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो ।