५ भदौ, धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रुपान्तरणका लागि नारी सशक्तीकरण आवश्यक रहेको बताउनु भएको छ ।

मुख्यमन्त्री ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत धनुषाको बटेश्वर गाउँपालिकास्थित शिवशक्ति नमूना माविमा आज आयोजित साइकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले समग्र विकासको मूल आधार नारी सशक्तीकरण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रदेशको समृद्धिका लागि सामाजिक रुपान्तरण र सामाजिक रुपान्तरणका लागि नारी सशक्तीकरण आवश्यक रहेकाले नै प्रदेश सरकारले बेटी पढाऊ बेटी बचाऊ कार्यक्रमअन्तर्गत छोरी शिक्षा बीमा, साइकल वितरण जस्ता कार्यक्रमहरु अघि सारेको छ ।’ प्रदेश सरकारले छोरीहरुलाई शिक्षित मात्र नभई रोजगारी दिने ग्यारेन्टीसमेत गरेको उहाँको भनाइ छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य शत्रुधन महतो, समाजवादी पार्टीका नेता महाजन यादव, बटेश्वर गापाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीसहितका वक्ताहरुले कार्यक्रमको प्रशंसा गर्दै सरकारको अभियानमा हातेमालो गर्ने प्रतिबद्धता जनाउनुभयो । विद्यालयका कक्षा ८ मा अध्ययनरत ९५ जना छात्रालाई मुख्यमन्त्री राउतले साइकल हस्तान्तरण गर्नुभएको हो ।