४ साउन, चितवन । जिल्लाका छुट्टाछुट्टै दुई स्थानमा भएका मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गएराति भरतपुर महानगरपालिका–१४ वीरेन्द्रचोकमा गीतानगरबाट पार्वतीपुरतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ना ४२ प २८१ नम्बरको मोटरसाइकल चालक स्थानीय भीमसेननगर बस्ने वर्ष ४८ का बलराम भण्डारी रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती ४५ वर्षीया पद्मा भण्डारी गम्भीर घाइते भएका छन । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । राति ११ बजे दुर्घटना भएकोमा उपचारको क्रममा राति १२:१५ मा भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, पूर्वी चितवनको रत्ननगर नगरपालिका–६ बछौलीमा गएराति ना ४२ प ४०३१ नम्बरको मोटरसाइकलले स्थानीय ४५ वर्षीया सावित्री चौधरी र ३६ वर्षीय राजेन्द्र चौधरीलाई ठक्कर दिँदा सावित्रीको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजेन्द्रको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । राती ९:१० बजे सो दुर्घटना भएको हो ।

सौराहाबाट टाँडीतर्फ आउँदै गरेको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस