२७ जेठ, काठमाडौं ।

संविधान निर्माणमा चार राजनीतिक दलबीच १६ बुँदे सहमति भएलगत्तै अर्थमन्त्री डा रामशरण महत भारतको तीन दिने भ्रमणका लागि बुधबार नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् । भारतका वित्तमन्त्री अरुण जेट्लीको निमन्त्रणामा मन्त्री महत भारत प्रस्थान गरेका हुन् ।

ramsarana mahat

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा घोषणा भएको सहयोग रकमको उपयोग तथा कार्यान्वयनका सम्वन्धमा दुई पक्षबीच छलफल हुनेछ । त्यसैगरी भारतमा नेपालीहरुको बैंक खाता सञ्चालन, भारु ५०० तथा १००० का नोटसम्वन्धी विषय, भारतमा नेपाली उत्पादनहरुले ब्योहोर्दै आएको काउन्टरभेलिङ ड्युटी, नेपालमा भारतको लगानी तथा दुईपक्षीय व्यापार विस्तारका बारेमा छलफल हुने जनाइएको छ ।

अर्थमन्त्री तथा नेपाली प्रतिनिधिमण्डलका नेता डा महतले बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटी भूकम्पपछिको नेपाल सहायता सम्मेलनका लागि प्रधानमन्त्री सुशील कोइरालाको तर्फबाट निमन्त्रणा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । सहायता सम्मेलनमा भारतका अन्य मन्त्रीहरुलाई पनि निमन्त्रणा गरिएको छ ।

सम्मेलन आगामी असार १० गते काठमाडौंमा आयोजना हुने तय भैसकेको छ । अर्थमन्त्री डा महत उक्त सहायता सम्मेलनको संयोजक पनि रहेका छन् ।