१ बैशाख, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । पार्टी एकीकरण र पछिल्लो राजनीतिक विषयमा छलफल गर्न मोर्चाका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो ।

फाइल फाेटाे

मोर्चामा आवद्ध ७ पार्टीका अध्यक्षहरुको बैठक बेलुकी ५ बजे तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष मलोपा अध्यक्ष महन्थ ठाकुरको निवास सानोठिमी भक्तपुरमा बस्नेछ ।

बैठकमा शीर्ष नेताहरुबीच पार्टी एकतापछि नेतृत्वको बरियता, पार्टीको नाम, चुनाव चिह्न, विधान लगायतका विषयमा छलफल केन्द्रित हुने तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महिन्द्र राय यादवले बताए । सकभर एकहप्ता भित्रै घोषणा गर्नेगरी एकताको प्रयास भइरहेको उनको भनाई छ ।

आन्दोलन वा चुनाव जुन बाटो अंगाले पनि एक भएर जाँदा बलियो उपस्थिती देखाउन सकिने भएकाले मोर्चाले पार्टी एकीकरणलाई अहिले प्राथमिकतका साथ अगाडि बढाएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने सद्भावना पार्टीका महसचिव मनिष सुमनले बताए । सरकारले ल्याएको नयाँ संसोधन विधयेक अस्विकार गर्ने निर्णय गरिसकेको मोर्चाले प्रधानमन्त्रीले वार्तामा आउन गरेको आग्रहका बारेमा पनि आज छलफल गर्नेछ ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले सरकारले गरेको आग्रहलाई सकारात्मक रुपमा लिएको भन्दै संवाद र वार्तालाई निरन्तरता दिन आफूहरु तयार रहेको बताए ।

मोर्चाले संसोधन अस्विकार र चुनाव बहिस्कार गर्ने निर्णय गरेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोर्चाका शीर्ष नेताहरुलाई फोन गरेर वार्तामा आउन र सहमतिमा अघि बढ्न आग्रह गर्दै आएका छन् ।