२७ फागुन, काठमाडौँ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा सप्तरीको घटनाको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय गठबन्धनका सांसद्हरुले रोष्टम घेराउ गरेका छन् ।

बैठक आरम्भ हुनासाथ सभामुखसँग समय लिएर सङ्घीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईले फागुन २३ गते सप्तरीमा भएको झडपमा चार जनाको मृत्यु भएको र ३५ जना घाइते भएको सम्बन्धमा निन्दा गर्दै सुरक्षाकर्मीले कम्मर र टाउकोमाथि गोली प्रहार गरेर अन्तर्राष्ट्रिय मानवअधिकारको उल्लङ्घन भएकाले घटनामा संलग्नलाई कारबाही गर्न माग गरे।

सो सम्बन्धमा दोषीमाथि कारबाहीको माग गर्दै आफूहरुले घेराउ गर्ने जानकारी गराएपछि मोर्चाका सांसद्हरु रोष्टम घेर्न पुगेका थिए । मोर्चाको घेराउ र नाराबाजीबीच बैठकको शून्य समय सुरु भएको छ ।

नेकपा (एमाले) को मेची–महाकाली राष्ट्रिय अभियानको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताको विरोध नियन्त्रण गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेको थियो ।

राईले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलबाट भएको हस्तक्षेपका सम्बन्धमा स्पष्ट पार्न सरकारसँग आग्रह गरे। रासस