काठमाडौं, २ जेठ । पार्टी एकीकरणको एक वर्षपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रमुख जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको छ ।

पूर्व एमाले र पूर्व माओवादी केन्द्रका जनवर्गीय संगठनको भागवण्डा गरी नेतृत्व टुंगो लगाइएको हो । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले नेतृत्वको टुंगो लगाएको हो ।

जसअनुसार विद्यार्थी, बुद्धिजीवी र मजदुर संगठनको नेतृत्व तत्कालीन नेकपा एमालेले पाएको छ भने युवा र पत्रकारको नेतृत्व तत्कालीन माओवादीले पाएको छ । विद्यार्थी संगठनको संयोजकमा ऐन महर, मजदुर संगठनको संयोजकमा बिनोद श्रेष्ठ, युवा संघको नेतृत्वमा रामप्रसाद सापकोटा र पत्रकारको संगठनमा महेश्वर दाहाल संयोजक रहनेगरी सहमति जुटेको हो ।

त्यसैगरी बुद्धिजिवीमा दिनेशचन्द्र देवकोटाको नेतृत्व रहने मोटामोटी सहमति बनेको बताइएको छ । जनवर्गीय संगठनको सबै नाम टुंगो लगाएर शुक्रबार एकता घोषणा गर्ने तयारी छ ।