४ चैत, काठमाडौं।

प्रतिनिधिसभा बैठक आजका लागि पनि बोलाइएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा विभिन्न विधेयकहरु छलफलका लागि पेश हुने सम्भावित कार्यसूची रहेको छ ।

हिजो बोलाइएको बैठक राष्ट्रिय जनता पार्टी राजपाको अवरोधका कारण सूचना टाँसेर स्थगित भएको थियो । मधेश आन्दोलन जाँचबुझ लागि गठन गरिएको गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिबेदन सार्वजनिक गर्न सरकारसँग माग गर्दै बैठक अबरुद्ध गरेको थियो ।

सरकारले लाल आयोगको प्रतिबेदन सार्वजनिक नगरेसम्म बैठक अबरुद्ध गरिरहने राजपाले जनाएको छ । बैठक बसेमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७५’ पेश गर्ने छन्।

त्यस्तै उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले ‘राष्ट्रिय सुरक्षा परिषद् विधेयक, २०७५” प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा अरु पनि विभिन्न विधेयकहरु छलफलका लागि पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।