२६ पुस, एजेन्सी । ईरानले युक्रेनियन एयरलाइन्सको जहाजलाई मिसाइल प्रहार गरी खसालेको स्वीकार गरेको छ । इरानी सेनाले आज बिहान एक विज्ञप्तिमार्फत् मानवीय त्रुटीबाट विमान खसेको स्वीकार गरेको हो ।

सेनाको विज्ञप्तिपछि राष्ट्रपति हसन रुहानीले सेनाको आन्तरिक छानबिनमा ‘मानवीय त्रुटिका कारण प्रहार भएको क्षेप्यास्त्रले युक्रेनी विमानको दुर्घटना गराएको र १७६ जना निर्दोष मानिसको मृत्यु भएको’ निष्कर्ष निस्किएको ट्वीटरमा लेखेका छन् । राष्ट्रपति रुहानीले उक्त घटनालाई ‘ठूलो विपत्ति र अक्षम्य गल्ती’ भन्दै कसले त्यसो ग¥यो पत्ता लगाउन र कारबाही गर्न अनुसन्धान भइरहेको उल्लेख गरेका छन् ।

बुधबार बिहान इरानको राजधानी तेहरानबाट उडेको केहीबेरमै युक्रेनियन एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । दुर्घटनामा परेर मृत्यु भएका १ सय ७६ यात्रुमा इरानी, क्यानडेली, युक्रेनियन तथा बेलायती नागरिक थिए । यसअघि इरानले जहाजकै आन्तरिक गडबडीले दुर्घटना भएको दाबी गर्दै आएको थियो । हिजो मात्रै इरानले दुर्घटनाको छानबिनका लागि अमेरिकालाई अनुमति दिन सहमत भएको थियो ।

यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडेउले विमान इरानी सेनाले नै खसालेको आशंका व्यक्त गर्नुभएको थियो । युक्रेनियन एयरलाइन्सको बोइङ ७३७ जहाजमा १६७ जना यात्रु र चालक दलका ९ सदस्य थिए । बुधबार इरानले इराकमा अमेरिकी सैन्य हवाई बेसहरुमा मिसाइल आक्रमण गरेको केहीबेरमै जहाजमाथि प्रहार गरेको थियो ।