१६ भदाै, काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा परेको मुद्दा खारेज भएको छ ।

अदालतको मानहानी गरेको भन्दै लामिछाने र नेपाल प्रहरीका निलम्बित डिएसपी अंगुर जिसीविरुद्ध मानहानीको मुद्दा दर्ता भएको थियो । एक वर्षअघि बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्त प्रकरणको प्रमाण नष्ट गरेको र निर्दोषलाई यातना दिएको भन्दै दर्ता गरिएको मुद्दालाई जिल्ला अदालतका न्यायाधीश गोपाल बास्तोलाको इजलासले खारेज गरिदिएको हो। अदालतमा विचारधीन मुद्दाबारे सार्वजनिक रुपमा बोल्न नमिल्ने अवस्थामा रवि र अंगुरले टेलिभिजन कार्यक्रममार्फत् आफ्ना भाइ दिलिपसिंहलाई अभियुक्त ठहर गरेको भन्दै दाजु खड्गसिंह विष्टले रवि र जिसीविरुद्ध मुद्दा दायर गरेका थिए।

निर्मलाको बलात्कारपछि हत्या गरिएको घटनाको सुरुदेखि अनुसन्धानमा खटिएका डिएसपी जिसी र दिलिपका भिनाजु पर्ने पत्रकार खेम भण्डारीसँग रविले सिधाकुरा जनतासँगको कार्यक्रममा अन्तर्वार्ता लिएका थिए। लामिछाने आत्महत्या दुरुत्साहनकाे अभियाेगमा चितवन जिल्ला अदालतबाट ५ लाख रुपैयां धराैटीमा छुटेका हुन् । याे मुद्दा भने ट‌ुंगिन बाँकी छ ।