१० फागुन, काठमाडौं।

एकता महाधिवेशनबाट अध्यक्षको नतिजा आएको भोलिपल्ट भइरहेको केन्द्रीय सदस्यको निर्वाचनमा एक प्रतिनिधिलाई भोट हाल्न राप्रपामा १२ मिनेटसम्म लागिरहेको छ ।

सोमबार अध्यक्षको चुनाव मतपत्रबाट नै भए पनि आज बिहानैदेखि ५४ वटा भोटिङ मेसिनबाट मतदान भइरहेको छ । केहीबेर ५४ वटा मेसिन भएकोमा अहिले चारवटा थप गरिएको छ ।

९८ केन्द्रीय सदस्यका लागि ३ सय ६३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ३ हजार २ सय ९७ जना प्रतिनिधिले भोट हालेर केन्द्रीय सदस्य चुन्नेछन् ।

राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार दिउँसो तीन बजेसम्म एक हजार पाँच सय जनाले अर्थात ४३ प्रतिशतले मत खसालिसकेको जानकारी दिए । बाँकी मतदान सकिन राती ९ बज्नसक्ने उनले बताए । विद्युतीय मेसिनबाट मतदान गरिएपछि आजै राती सदस्यको नतिजा आउने छ ।

‘एक जनालाई भोटिङ गर्न १० देखि १२ मिनेट लाग्ने देखिएको छ । यही हिसाबले भोटिङ सकिनै ९ बज्ने देखिएको छ’ श्रेष्ठले भन्छन्, ‘मतदान ढिलो भए पनि मेसिनबाट मतदान भएकोले आजै चुनावको नतिजा आउँछ ।’

सोमबार भएको मतदानबाट अध्यक्षमा कमल थापा चुनिएका थिए । १ सय ६३ सदस्यीय कार्यसमितिमा ९८ सदस्यको चुनाव र ६४ सदस्य अध्यक्षबाट मनोनित हुन्छन् । मनोनितबाटै २३ सदस्य पदाधिकारीमा मनोनित हुन्छन् ।

यो पढ्नुस्।

निर्वाचनको वातावरण बनाउः एमाले