२८ असोज, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित सांसदलाई शुक्रबार मन्त्रिपरिषद्मा थप गर्न सिफारिश गरेको सन्दर्भमा निर्वाचन आयोग र कानुनविदसँग परामर्श गर्ने भएकी छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा चुनावको आचारसंहिता लागु भएको स्थितिमा मन्त्रिमण्डल विस्तारबारे निर्वाचन आयोगका प्रमुख आयुक्त, आयुक्तहरू र कानुनविज्ञसँग छलफल गरेर शपथ ग्रहणबारे राष्ट्रपतिले निर्णय गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

आचारसंहिता लागु भएकै अवस्थामा प्रधानमन्त्री देउवाले यसअघि गरेको मन्त्रिमण्डल विस्तारलाई आयोगले आचारसंहिता विपरीत भएको जनाएको थियो । राष्ट्रपतिको कार्यालयले कतिपय सञ्चारमाध्यममा शनिबार नै नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने भनी दिएका समाचारमा पनि सत्यता नभएको स्पष्ट पारेको छ । प्रधानमन्त्री देउवाले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिँदै सरकार विस्तार गरेका थिए ।

राप्रपाका दीलनाथ गिरी, जयन्त चन्द र विक्रम थापालाई मन्त्री तथा कुन्ती शाही, भाष्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराईलाई राज्यमन्त्री नियुक्त गरिएको छ । विस्तारसँगै मन्त्रिपरिषद् अहिलेसम्मकै सबैभन्दा ‘जम्बो’ ६४ सदस्यीय भएको छ । कांग्रेससँगको सत्ता साझेदारी तोड्दै माओवादी केन्द्रले प्रमुख विपक्षी दल एमालेसँग चुनावी गठबन्धन गरेपछि प्रधानमन्त्री देउवा माओवादीका तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्री निश्कासन गर्ने तयारीमा छन् ।

शुक्रबार नियुक्त भएका मन्त्रीलाई माओवादीले सम्हालेका मन्त्रालय दिने बताइएको छ । राप्रपाले दुई दिनअघि मात्रै निर्वाचनको सुनिश्चितताका लागि भन्दै सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।