२१ असार, काठमाडौं ।
प्रतिवेदन पाएको तीन महिना बितिसक्दा पनि सरकारले अझै राष्ट्रिय खेल निर्धारण गर्न सकेको छैन । देशको राष्ट्रिय खेलबारे सुझाव दिन बनेको समितिले प्रतिवेदन बुझाएको ३ महिनाभन्दा बढी समय बितिसक्दा पनि युवा तथा खेलकुद मन्त्रालयले निर्णय गर्न नसकेको हो ।

आफु नेतृत्वको समितिले विभिन्न सुझावहरुलाई एकीकृत गरी खेलकुद मन्त्रीलाई प्रतिवेदन बुझाईसकेको मन्त्रालयका प्रवक्ता चुडामणि शर्माले जानकारी दिए । संसदको महिला, बालबालिका तथा समाजकल्याण समितिको निर्देशन पछि सरकारले शर्माको संयोजकत्वमा तीन सदस्यीय राष्ट्रिय खेल छनोट तथा सिफारिस समिति गठन गरेको थियो ।

Sports award 1

 

फाइल तस्विर

समितिले नेपालमा धेरै खेलिने भलिबल, फुटबल, क्रिकेट, तेक्वान्दो, कबड्डी, डन्डीबियो, कराँते लगायत १० खेललाई राष्ट्रिय खेल बनाउन सुझाव समितिको प्रतिवेदन बुझाइसकेको छ ।

एक सय ६१ जनाको इमेल प्राप्त भएकोमा एक सय ३० जनाले क्रिकेटलाई राष्ट्रिय खेल घोषणा गर्न माग गरेको समितिले जनाएको छ । समितिका अनुसार तीन जनाले कबड्डी र अन्यले भिन्नभिन्न खेलका लागी सुझाव दिएका छन् ।

भुकम्पका कारण राष्ट्रय खेलबारेको प्रस्ताव तयार नभएकाले मन्त्रिपरिषदमा लैजान ढिलाई भएको प्रवक्ता शर्माले बताए । खेकुद मन्त्रालयले केही बिकल्प सहित राष्ट्रिय खेलको प्रस्ताव मन्त्रीपरिषदमा लैजाने भनेपनि अझै प्रस्ताव पनि लैजान सकेको छैन ।

मन्त्रिपरिषदले विभिन्न बिकल्पहरुमा छलफल गरेर अन्तिम निर्णय गर्नेछ । नेपालको राष्ट्रिय खेलबारे अन्यौल भएपछि संसदीय समितिले सरकारलाई तत्काल राष्ट्रिय खेल तोक्न निर्देशन दिएको थियो ।

मन्त्रालयले ७ पुसमा गठन गरेको समितिलाई एक महिनाभित्र विकल्पसहित राष्ट्रिय खेलबारे सुझाब पेस गर्न भनिएको थियो । सुझाबका आधारमा नेपाली परिवेश सुहाउँदो खेललाई राष्ट्रिय खेल घोषणा गर्न सिफारिस गरिने संयोजक पौडेलले बताए ।