२ पुस, काठमाडौ । अहिलेका युवा पुस्तामा देखिएको ‘लभ म्यारिज’ को क्रेजले पराम्परागत मागी विवाहलाई लगभग विस्थापित नै गरेको छ ।आजकाल युवतीहरू विवाहको कुरामा ‘लभ प्लस एरेञ्ज’ भन्न थालेका छन् ।  marriage

अभिभावकको मनसमेत रहने आफ्नो रोजाईको पनि हुने भएकाले युवा पुस्ताको क्रेज बढेको बताइन्छ । ‘केटाकेटीले एक अर्कोलाई राम्रोसँग बुझ्ने मौका पाउने भएकाले अभिभावकको सहमतिमा गरिने प्रेम विवाह उत्तम हो’ आरआर कलेजकी सुभानु आचार्य बताउँछिन् ।

बाबुआमा पनि भागेर जानुभन्दा छोराछोरीको इच्छाअनुसार विवाह गरिदिनु राम्रो मान्ने गरेका छन् । कपनकी रमा भट्टराई भन्छिन्, ‘छोरीले आज मलाई माग्न आउँदै छन् भनी, हामीले हुन्छ भन्यौँ । दिउँसो एक केटाले बाबुआमालगायत आफन्त लिएर आए । ‘

इन्गेजमेन्ट’ जस्तो टीका लगाइदियो । विवाहका लागि तयारी गर्न केही समय राखेका छौँ ।’ उनले थपिन् ‘एउटै छोरी हो, इष्टमित्र कहाँ गएर पनि खाइएको छ । उनीहरूलाई बोलाउने पनि यही त हो समय । विवाह त गर्नु परिहाल्यो नि !’

सरस्वती नगरकी अर्की महिला कल्पना थपलिया छोराले मन पराएको केटी आफूलाई मन नपरे पनि वाध्यता हुन लागेको बताउँछिन् । उनी भन्छिन्, ‘बुबा छैनन्, मेरो इच्छाविरुद्ध उसले विवाह गर्न सकेको छैन र छोड्न पनि सकेको छैन । अनि के गर्नु ? उसले मेरो मुख हेरेर ३ वर्षदेखि मन भएर पनि ल्याउन सकेको छैन भने म धेरै स्वार्थी भएँ कि भन्ने लागेर स्वीकृति दिएँ ।’

आरआर कलेजमै अध्ययनरत अर्की मीरा घिमिरेले भने अभिभावकले स्वीकृति नदिएकाले भागेर विवाह गरेको बताइन् । उनले प्यूठान बांगिसाल निवासी नेत्रप्रसाद पोखरेलसँग प्रेम विवाह गरेकी छन् । आफ्नो लगभग ६ वर्ष पुरानो प्रेम सम्बन्धलाई यही मंसिरमा विवाहमा परिणत गरेको उनले बताइन् । उनी आफूले प्रेम विवाह गरेकोमा कुनै पनि पछुतो नभएको बताउँछिन् । ‘जुन किसिमको मायाको अनुभव विवाह अगाडि थियोे त्यसमा अहिलेसम्म कुनै पनि परिवर्तन आएको छैन’ उनले भनिन् ।

‘म काठमाडौंमा नै जन्मेकी केटी ऊ दुर्गम गाउँको केटा । म स्नाकोत्तर प्रथम वर्षमा पढ्दै गरेकी ऊ मात्र १२ कक्षा उत्तीर्ण, अभिभावकले मानेनन्’ उनले भनिन् ‘अरू जात, भात, जोरीपारी केही अमिल्दो थिएन ।’

त्यसैगरी सुभानु भन्छिन्, ‘२ वर्षसम्म प्रेममा रहेर एक अर्कालाई बुझ्यौँ । हामी दुवैलाई मिलेर सँगै बाँकी जीवन बिताउन सक्छौँ भन्ने लागेपछि दुवैले आआफ्ना अभिभावकलाई मनायौँ ।’ मागी विवाह बारे धाराणा राख्दै उनी भन्छिन्, ‘नयाँ मान्छे नयाँ परिवारसँगको घुलमिल कसरी हुने होला ! कल्पना गर्दैमा कताकता डर पो लाग्छ ! पारिवारको त कुरै छाडौँ पतिसँग नै नजिक हुन डर लाग्छ होला ।’

अभिभावकको सहमतिमा गरिने प्रेम विवाह सबैभन्दा उत्तम भएको पण्डित आत्माराम खतिवडा बताउँछन् । ‘यो नेपालको मौलिकता पनि भएको छ’ पण्डित खतिवडाले भने ‘पश्चिमाहरू आफूखुसी अलग बस्छन् त्यसमा अभिभावकको स्वीकृति अस्वीकृति केही हुँदैन । परिवारसँग केही लेनादेना पनि हुँदैन । तर, हामीकहाँ चलेको लभ प्लस एरेञ्जले सबै पक्ष समेट्छ ।’