२५ साउन, लमजुङ (बेंसीशहर) । जिल्लामा उत्पादित विद्युत्लाई सिधै केन्द्रीय प्रशारण लाइनमा जोडिने भएको छ ।

जिल्लामा २० एमभिए क्षमताको नयाँ ट्रान्सफर्मर ल्याइएपछि यहाँ उत्पादित विद्युत्लाई सिधै केन्द्रीय प्रशारण लाइनमा जोड्न लागिएको हो । हालसम्म तनहुँको दमौलीमा रहेको ३३ केभी ट्रान्सफर्मरमार्फत लमजुङको विद्युत् केन्द्रीय प्रशारणमा पठाइएको थियो । मध्यमस्र्याङ्दीमा भने १२ एमभिए क्षमताको ट्रान्सफर्मर रहेको छ ।

बढी क्षमताको ट्रान्सफर्मर जोडिएपछि मध्यमस्र्याङ्दीबाटै केन्द्रीय प्रशारण लाइनमा पठाउने नेपाल विद्युत् प्राधिकरण, शाखा लमजुङका प्रमुख माधव न्यौपानेले बताए ।

हालसम्म प्रशारण लाइनमा समस्या हुँदा उपभोक्ताले पनि समस्या भोग्दै आएका थिए । दैनिक २० देखि ३० पटकसम्म विद्युत् जाने आउने भएपछि समस्याको समाधानको लागि प्राधिकरणले ढल्केबरबाट नयाँ ट्रान्सफर्मर पठाएको हो ।

जिल्लामा बढी क्षमताको ट्रान्सफर्मर आएपछि जलविद्युत् उत्पादक साथै उपभोक्ता पनि खुशी भएका छन् । जिल्लामा ल्याइसकिएको नयाँ ट्रान्सफर्मर जडानका लागि भने केही हप्ता लाग्ने प्राधिकरणले जनाएको छ । रासस