४ चैत, काठमाडौँ।

विभिन्न दस विद्यार्थी सङ्गठनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भारत र चीनबीच भएको लिपुलेक सम्झौताबारे चिनियाँ धारणा माग गर्दै सम्झौता सच्याउने पहल गर्न आग्रह गरेका छन् ।

Lipulake

एकीकृत नेकपा(माओवादी) निकट अखिल(क्रान्तिकारी)को केन्द्रीय कार्यालय बागबजारमा आज बसेको विद्यार्थी सङ्गठनको संयुक्त बैठकले नेपाल, भारत र चीनको त्रिदेशीय सीमाबिन्दु पहिचान गरी दीर्घकालीन समाधान खोज्न, तातोपानी नाका अविलम्ब सञ्चालनमा ल्याउन र इन्धनको वैकल्पिक आयातबारे ठोस पहल गर्न आग्रह गरेको हो ।

बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि सामूहिक आग्रह गर्ने, संयुक्त विद्यार्थी आन्दोलनको उपलब्धिका संस्थागत गर्ने र निजी विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्धारण भएकाले त्यसलाई इमान्दारितापूर्वक लागू गर्न आग्रह गरिएको छ ।

निजी विद्यालयले कानुनविपरीत थोत्रा सवारी साधनमा बालबालिकाको ओसारपसार गर्ने गरेको सार्वजनिक भएकाले तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्नसमेत बैठकले सरकारसमक्ष आग्रह गरेको छ ।

विद्यालय तहको शिक्षामा वैदेशिक शैक्षिक कार्यक्रम नभित्र्याउन आग्रह गर्दै बैठकले उच्च माध्यामिक शिक्षा परिषद्बाट उत्तीर्ण भई समयावधिका कारण उच्च शिक्षा अध्ययन गर्न नपाएका विद्यार्थीलाई न्याय दिन र त्रिविविले आङ्गिक क्याम्पसले दिँदै आएको २० प्रतिशत छात्रवृत्तिलाई कटौती गरी १० प्रतिशतमा झारिएकामा आपत्ति जनाएको छ ।

कालोबजारी, अनियमितता र भ्रष्टाचार रोक्न सार्थक पहल गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ । यसरी संयुक्त विज्ञप्ति जारी गर्नेहरुमा अनेरास्ववियू, नेविसङ्घ र अखिल(क्रान्तिकारी)लगायत विद्यार्थी सङ्गठन छन् । रासस