२१ असार, काठमाडौं ।

प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा छिट्टै लोकतान्त्रिक संविधान आउने भएकोले सबैलाई ढुक्क हुन आग्रह गरेका छन ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भूकम्पपीडितका लागि सहयोग रकम प्रदान गर्न आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा आएका नेपाल महिला सङ्घ कास्कीका प्रतिनिधिसँगको भेटमा उनले सो कुरा बताएका हुन ।

“लोकतान्त्रिक संविधान नै आउँछ,” प्रधानमन्त्री कोइरालाले भने, “ढुक्क हुनुहोस् ।”

Sushil_Koirala

सो अवसर प्रधानमन्त्री कोइरालाले भिन्नभिन्न विचार र राजनीतिक दर्शनमा आस्था भएका पार्टीहरुको भावनालाई समेटेर संविधान निर्माण गर्नु परेकाले केही बिलम्ब भएको जस्तो देखिएको पनि बताए ।

प्रधानमन्त्री कोइरालाले मुलुकमा लोकतान्त्रिक संविधान जारी भएपछि शान्ति र राजनीतिक स्थायित्व कायम हुने तथा त्यस्तो वातावरणमा विकासले गति लिने पनि बताए ।

उनले जलस्रोत, कृषि, पर्यटन र जडीबुटीजस्ता क्षेत्रमा लगानीको वातावरण बन्ने पनि बताए । नेपालका प्राकृतिक सम्पदाको सदुपयोग भएमा नेपालको विकास हुन धेरै समय नलाग्ने बताउँदै उनले भने, “हामी परिवर्तनको सङ्घारमा छौँ, निराश हुने कुरा छैन ।”

सो अवसरमा पार्टीभित्र भावनात्मक एकताको खाँचो रहेको बताउँदै भने, “पार्टीलाई एक बनाउनु होस् ।”

सो अवसरमा प्रधानमन्त्रीले हालै गएको भूकम्पपछि नेपालीले खोजी, उद्धार, राहत र पुनःस्थापना कार्यमा देखाएको तत्परता र गरेको कार्यको विदेशीहरुले समेत प्रशंसा गरेको बताउनुभयो । “सुरुमा विदेशीहरुले विश्वासै गरेका थिएनन, जब नेपाली आफैले काम गर्न थाले विश्वास गर्न कर लाग्यो” कोइरालाले भने ।

उनले भूकम्पप्रभावित क्षेत्रमा सरकारले एकीकृत बस्ती विकासको कार्यक्रम गर्न लागेको र त्यस्ता बस्तीहरु भौतिक पूर्वाधार र सामाजिक सेवाका पूर्वाधारसहित भूकम्प प्रतिरोधी प्रविधियुक्त हुने पनि बताए।

सो अवसरमा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रजातान्त्रिक समाजवादलाई चरितार्थ गर्ने र सबै जनतालाई सशक्तीकरण गर्ने संविधान आउने बताए ।