१५ बैशाख, काठमाडौं । निजी विद्यालयले शुल्क बढाएको बिरोधमा आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

आज बसेको संगठनको बैठकले जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी देखि सरकारी गाडी चल्न नदिनेसम्मका कार्यक्रम घोषणा गरेका हुन् ।

सार्वजनिक नयाँ कार्यक्रम अनुसार भोली शिक्षा विभाग र देशका सबै जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गर्ने रहेको छ । बैठकले १८ गते आइतबार सरकारी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय पनि गरेको छ ।

नियम विपरित काठमाडौं उपत्यकाका निजी विद्यालयले मनपरी शुल्क बढाएको भन्दै हिजो ५ दर्जन बढी स्कूलको लेखा र प्रशासन शाखामा तालाबन्दी गरेका थिए ।

माग पूरा गर्न चासो नदेखाएपछि आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिएको विद्यार्थी नेताहरुको भनाई छ ।