४ जेठ, नेपालगन्ज।

अत्यधिक गर्मी हुने सहर नेपालगन्जमा विद्युत्भार कटौती गरिएको विरोधमा यहाँका स्थानीयवासी पुनःआन्दोलित भएका छन् ।

आज दिउँसो नेपालगन्ज सदरलाइनमा ठूलो सङ्ख्यामा उपस्थित स्थानीयवासीले विद्युत्भार कटौतीको विरोधमा टायर बालेर प्रदर्शन र नाराबाजीसमेत गरेका छन् ।

अघिल्लो सरकारले नेपालगन्जमा राष्ट्रिय प्रसारण लाइनबाट दिएको पाँच मेगावाट विद्युत् नदिएको स्थानीयवासीले विरोधको आन्दोलन थालेका हुन् ।

नेपालगन्जको प्रचण्ड गर्मीमा सरकारले विद्युत् उपलब्ध गराएर राहत दिनुपर्नेमा यसअघि दिँदै आएको विद्युत्समेत कटौती गरेकामा उनीहरु रुष्ट भएका छन् ।

चार दशकअघि भएको सम्झौताअनुसार भारतको नानपारा सवस्टेसनबाट दैनिक पाँचदेखि १२ मेगावाट विद्युत नेपालगन्जमा आपूर्ति हुँदै आएको छ तर नेपालगन्जलाई दैनिक २० मेगावाट विद्युत् आवश्यक पर्ने प्राधिकरणले जनाएको छ ।

यहाँस्थित मौसम विभागको स्थानीय कार्यालयका अनुसार आज नेपालगन्जको तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । रासस