narayan-man-Bijukche३२ साउन, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भदौ ४ गतेसम्म दलबीच विवादित सबै विषयमा सहमति भएमात्र मङ्सिर ४ गते निर्वाचन हुने बताएका छन् ।

अध्यक्ष बिजुक्छेले रासससँग निर्वाचनका सन्दर्भमा कुरा गर्दै दलबीच रहेका विवादित विषयमा सहमति नभए निर्वाचन नहुने दाबी गरे ।

ठूला दल र मधेसी दलबीच विवादका रुपमा रहेका राज्यको पुनःसंरचना, जातजातिका आधारमा राज्यको माग, आत्मनिर्णयको अधिकारसहितको एक मधेस एक प्रदेशलगायतका बारेमा उठेका सवालमा सहमति नभएसम्म निर्वाचन नहुने उनको भनाइ छ ।

कतिपय दलहरू जातजातिका आधारमा राज्यको पुनःसंरचना गर्नुपर्ने पक्षमा रहेको तर एमाले, काँग्रेस यसको विपक्षमा रहेकाले दलबीच यसमा सहमति हुनु आवश्यक रहेको उनले औँल्याए ।

अध्यक्ष बिजुक्छेले भने, ‘पहिलो संविधानसभामा सहमति नभएका जटिल मुद्दाहरु अहिले पनि विवादितै छन्, जातजातिका आधारमा सङ्घीय राज्यको माग एमाओवादी र मधेसी दलहरुले गरेका छन्, आत्मनिर्णयको अधिकारसहितको एक मधेस एक प्रदेशको माग गरिएको छ, राज्य पुनःसंरचना एवम् शासकीय स्वरुपका बारेमा विवाद कायमै छ, यी विषयमा मुख्य दलबीच सहमति नभएसम्म निर्वाचन हुँदैन ।’

विदेशी शक्तिका इशारामा जातीय राज्य एवम् आत्मनिर्णयको अधिकारसहितको एक मधेस एक प्रदेशलगायतका सवाललाई एमाओवादी र मधेसवादी दलले कार्यसूची बनाएर बोकेर हिँडेको आरोप उनले लगाए ।

बिजुक्छेले जातजातिका नाममा राज्यको विभाजन भएमा र आत्मनिर्णयको अधिकारसहितको एक मधेस एक प्रदेशको माग पूरा गरिए देश टुक्राटुक्रा हुने बताए ।

निर्वाचनको सन्दर्भमा वर्तमान चुनावी सरकार परिवर्तनको माग गलत र चुनाव हुन नदिने नियतले आएको हो भन्ने उहाँको ठम्याइ थियो । उनले भने, ‘सरकार परिवर्तन गरे मात्र निर्वाचनमा जान्छौँ भन्नु, विषको सिसी अगाडि राखेर यो खाईदेऊ अनि मात्र मित्रता गर्छु भन्नु जस्तै हो, वर्तमान सरकारले राजीनामा दिए, ठूला पार्टीबीच फेरि सरकारको नेतृत्वलाई लिएर विवाद हुन्छ, त्यसपछि झन निर्वाचन हुँदैन ।’

वैद्यलगायतका असन्तुष्ट दललाई छाडेर निर्वाचनमा जान सकिने स्थिति पनि नरहेको बताउँदै अब स्थानीय निकायको निर्वाचन पनि गर्नुपर्ने स्थानीय निकायको निर्वाचन नभएसम्म भ्रष्टाचार नरोकिने उनको जिकिर थियो ।

नेमकिपाले अहिलेसम्म निर्वाचनको तयारी नगरेको बताउँदै अध्यक्ष बिजुक्छेले भने, ‘मङ्सिरमा निर्वाचन हुने निश्चित भएमा मात्र नेमकिपाले चुनावी तयारी गर्छ, अहिले नै चुनावी तयारी गर्नु आवश्यक छैन, नेमकिपालाई चुनाव लागेको छैन ।’

उनले ठूला पार्टीले जारी गरेको घोषणापत्र हेरेर त्यसैमा टेकेर प्रतिक्रियासहित नेमकिपा चुनावी तयारीमा जाने पनि जानकारी दिए । रासस/रमेश गिरी