बासुदा सत्याल । २५ फागुन, लिस्बन ।

पोर्चुगलमा २१४३ औं ग्याल्बो ल्होछारको अवसर पारी शुभकामना कार्यक्रम तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । युरोपभरका शेर्पाहरु भेला भइ शेर्पा संघ युरोपको तेश्रो महाधिवेशन पनि सम्पन्न गरेका छन् ।

युरोप शेर्पा संघको अध्यक्षमा फुला शेर्पा (बेल्जियम), उपाध्यक्षमा टाशी शेर्पा (जर्मनी), पेम्बाछिरी शेर्पा (पोर्तुगल), महासचिव पेम्बा गेलु शेर्पा (पोर्तुगल), सचिव साङठु शेर्पा (पोर्तुगल), कोषाध्यक्ष ङिमा ओङछु शेर्पा (जर्मनी) निर्विरोध निर्वाचित भएका छन् । सदस्यमा ङवाङ दावा शेर्पा (पोर्तुगल), ङीमा शेर्पा (इटाली) र पेम्बा दोर्जी शेर्पा (बेल्जियम) चयन भएका छन् । घोषणा सभामा बाँकी सदस्यहरु पछि थप गरिने बताइयो ।

Sherpa sangh Italy

महाधिवेशनमा नेपाल शेर्पा संघका केन्द्रीय अध्यक्ष आङ दोर्जी लामा शेर्पा, संघीय समाजवादी फोरम नेपालका वैकल्पिक केन्द्रीय सदस्य पेम्बा गेल्बु शेर्पा, गैह्र आवासीय नेपाली संघका युरोप उप-संयोजक दावा गेल्जेन शेर्पा, शेर्पा किदुग यूएईका अध्यक्ष पासाङ रिन्जी शेर्पा, शेर्पा संघ यूरोपका संरक्षक आङदोर्जी सोनाम शेर्पा, संस्थापक अध्यक्ष आङ कल्जाङ लामा शेर्पा, लिस्बनका लागि अवैतनिक बाणिज्यदूत मकरबहादुर हमाल, नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलका अध्यक्ष कान्छा शेर्पा र एनआरएन उपाध्यक्ष राजन शेरचनलगायतले शुभकामना तथा बधाई मन्तव्य राखेका थिए ।

महाधिवेशनमा बेलायत, जर्मनी, इटाली, स्पेन, बेल्जियम, दुबई र पोर्तुगलका शेर्पाहरु सहभागी थिए । शेर्पा किदुक साँस्कृतिक कार्यक्रममा नेपालबाट आएका गायक एपी शेर्पा, स्पेनबाट आएकी गायिका पेम्बा छोटी शेर्पा, गायक रामबाबु योञ्जन र गायक सोनाम शेर्पा ‘कोशिश’ ले आफ्ना प्रस्तुति पस्केका थिए । स्थानीय कलाकारहरुले गीत र नृत्यहरु प्रस्तुत गरेका थिए ।

महाधिवेशन घोषणा सभाको अध्यक्षता संघका अध्यक्ष हेम शेर्पाले र संचालन महासचिव कर्मा पहाडी शेर्पाले गरेका थिए । ल्होछार शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमको अध्यक्षता किदुकका अध्यक्ष आङनुरी शेर्पा र संचालन सचिव रिन्जी शेर्पाले गरेका थिए । साँस्कृतिक कार्यक्रमको संचालन पेम्बागेलु शेर्पा र निमल्हमु शेर्पाले गरेका थिए । कार्यक्रम हार्ड रक क्याफेको पछाडि रुवा दास पोर्टास दे सान्तु एन्ताउ ११० मा भएको थियो ।