एजेन्सी । श्रीलंकामा सबै मुस्लिम मन्त्रीले राजीनामा दिएका छन् । सांसदसमेत रहेको एक वौद्ध भिक्षुले श्रीलंकामा भएको आतंकवादी आक्रमणको विषयलाई लिएर राजीनामा माग गर्दै आमरण अनशन बसेपछि उनीहरु राजीनामा गर्न बाध्य भएका हुन् ।

एक मन्त्री र दुई गभर्नरले राजीनामा दिएको बीबीसीले जनाएको छ श्रीलंकामा गएको अप्रिलमा इस्टर सन्डेका अवसरमा चर्च र होटललाई निशाना बनाएर आक्रमण भएको भन्दै केही मुसलमान संगठनमाथि औंला उठाइएको थियो । प्रधानन्त्री रणिल विक्रमासिंगेको पार्टी युएनपीका सांसदसमेत रहेका भिक्षु अतुरालिए रतना थिरोले मन्त्री रिशाद बाथिउद्दिन र गभर्नर एएलएएम हिज्बुल्लाह र अजत सैलीको राजीनामा माग्दै शुक्रबार आमरण अनशन सुरु गरेका थिए ।

राष्ट्रपति मैत्रीपाला सिरिसेनाले गभर्नरको राजीनामा स्वीकृत गरेका छन् । गभर्नरको राजीनामा पछि केन्द्रीय मन्त्रीमण्डलमा सहभागी सबै मुस्लिम मन्त्री, उपमन्त्री र राज्य मन्त्रीले पनि राजीनामा पत्र बुझाएका छन् ।