काठमाडौँ, २७ भदौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सीमाङ्कनको विषयलाई लिएर तराई–मधेसमा भएका आन्दोलनमा भएका हिंसात्मक गतिविधिको भत्र्सना गरेको छ ।

राप्रपा नेपालको आज बसेको केन्द्रीय समितिको बैठकले केही स्थानमा सरकारका तर्फबाट समेत बल प्रयोग भएकामा चिन्ता व्यक्त गर्यो ।

बैठकले संवैधानिक राजसंस्था र सनातन धर्मसापेक्ष हिन्दू राष्ट्रप्रति प्रतिबद्ध रहँदै संविधानसभामा फरक मत राख्ने निर्णय गरेको पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए । पार्टीले मङ्सिरको दोस्रो साता केन्द्रीय परिषद्को बैठक बोलाउने निर्णय गरेको छ ।

बैठकले सनातन हिन्दू राष्ट्रको माग राखी खुलामञ्चमा अनशन बसेकाहरुको जीवनरक्षाको माग गरेको छ ।

बैठकले बिरामी भई अमेरिका उपचार गराउन जानुभएका पार्टीका महामन्त्री चन्द्रबहादुर गुरुङका लागि उपचार खर्च जुटाउन कोषाध्यक्ष उद्धव पौडेलको संयोजकत्वमा एक समिति गठन गरेको छ । रासस