२ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले वर्तमान लोकतान्त्रिक संविधान जारी भएको दिनलाई कालो दिन भन्नेको मन कालै भएको बताएका छन् ।

भीम रावल

बिहीबार बनेपामा आयोजित कार्यक्रमका बोल्दै नेता रावलले नागरिकतासम्बन्धी अन्तरिम संविधानको कुरा उठाउने र प्रतिनिधिसभा राज्य व्यवस्था समितिमा २०६३ सालको अन्तरिम विधेयकअनुसार दिनुपर्ने भन्नेले वर्तमान संविधान जारी भएको दिनलाई कालो दिन भनेको बताए । उनले नेपाली काङ्ग्रेसले तत्कालीन अन्तरिम संविधानअनुसार जारी विधेयकबाट नागरिकता दिनुपर्ने कुरा नाजायज भएको बताए ।

‘पश्चगामी र नेपालीको अहित हुने दिशातर्फ मुलुक जानुहुँदैन, अझै गलत र अवैध तरिकाले नागरिकता दिइएको पाइए तत्काल खारेज गर्नुपर्छ’, उनले भने । विदेशीलाई नेपालमा ल्याएर नेपालीलाई अल्मल्याउने षडयन्त्र भइरहेको नेता नेपालको आरोप थियो । नेता रावलले आफू गृहमन्त्री हुँदा नेपाल र नेपालीको पहिचान बोकेको दौरा सुरुवाल र गुन्यू चोलीलाई पुनः राष्ट्रिय पोशाकको रुपमा पुनःस्थापित गर्ने निर्णयलाई तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उल्ट्याएको बताए ।