२९ असार, काठमाडौं । संविधान संशोधन नभई चुनावमा नजाने अडान लिएको राजपा लचिलो हुँदै संशोधन फेल भए पनि चुनावमा जाने संकेत गरेको छ।

संविधान संशोधनमा दुईतिहाइ पुग्ने स्थिति नभएपछि सकार संशोधन प्रस्ताव तत्काल अघि नबढाउने निष्कर्षमा पुगेको छ। राजपा नेता भने सरकार र राजपाबीच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न संशोधन विधेयकलाई तत्काल प्रक्रियामा लैजान सरकारलाई दबाब दिएका छन्। संशोधन प्रस्ताव फेल भए पनि आफूहरू चुनावमा जान सक्ने संकेत उनीहरूले दिएका छन्। मंगलबार सरकार र राजपाबीच भएको वार्तामा सरकारले संशोधन प्रस्ताव मतदानमा लैजानुअघि चुनावमा जाने प्रतिबद्धता राजपासँग खोजेको थियो। आजको नागरिकमा खबर छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले संशोधन विधेयक फेल भए पनि चुनावमा जाने संकेत गरेका छन्। नागरिकसँग कुरा गर्दै उनले भने, ‘सरकारले संशोधन विधेयकलाई मतदानमा लैजानुपर्छ’, उनले भने, ‘अहिले नै फेल हुन्छ नभनौं। फेल भए पनि एउटा परिस्थिति निर्माण हुन्छ।’

प्रस्ताव मतदानमा लगे संशोधनको विपक्षमा कोको छन् भन्ने जनताले थाहा पाउने उनले बताए। ‘सरकार मतदानमा लैजान किन डराइरहेको छ’, उनले प्रश्न गरे।संशोधन विधेयक मतदानमा नलगे सरकारले राजपालाई चुनावमा जान रोक्न खोजेको प्रस्ट देखिने पनि उनले बताए। उनले भने, ‘प्रक्रियामा लगे सरकारले राजपालाई चुनावमा ल्याउन खोजेको देखिन्छ।’

संशोधन प्रस्ताव फेल भए पनि सरकारले सहिद घोषणा, मुद्दा फिर्ता लिने, स्थानीय तहको संख्या बढाउने र क्षतिपूर्ति दिने निर्णय गरेमा चुनावमा जान सकिने अर्का एक नेताले बताए।

स्थानीय तहको तेस्रो चरणको चुनावमा भाग लिन यतिखेर राजपालाई कार्यकर्ता तहबाटै दबाब सिर्जना भएको छ। दोस्रो चरणको चुनावमा राजपाको प्रभाव क्षेत्रमा पनि उत्साहपूर्वक मतदान भएपछि २ नम्बर प्रदेशमा पनि चुनावमा जान राजपा नेतालाई दबाब परेको छ।

यसैबीच राजपाका दोस्रो तहका नेता बुधबार निर्वाचन आयोग गई पार्टी दर्ताका लागि आवश्यक थप कागजात बुझाएका छन्। बुधबार आयोगमा पार्टीका केन्द्रीय सदस्य तथा पदाधिकारीको नामवली बुझाइएको हो। आयोगमा बुझाएको सूचीमा ८ सय १५ जनाको नाम छ। तीमध्ये १ सय ३१ जना पदाधिकारी र बाँकी केन्द्रीय सदस्य हुन्।