२० भदौ, काठमाडौं । सुगम संगीतको अग्रज गायक हेमन्त शर्माले पहिलोपटक लोकदोहोरी गीतमा आवाज दिएका छन् ।

बिहीबार उनको स्वरमा रहेको गीत ‘वनमारा’ सार्वजनिक भएको छ । गीतमा हेमन्तलाई चर्चित लोकदोहोरी गायिका विष्णु माझीको स्वर छ । गीतमा यम थापा मगरको शब्द, संगीत तथा एरेञ्जमेन्ट रहेको छ । सुन्दा दमदार रहेको गीतको भिडियो पनि उत्कृष्ठ बनेको छ ।

गीतको भिडियोमा नायक पुष्प खड्का, नायिका मरिस्का पोखरेलको साथमा गायक शर्मा आफैँ पनि देखिएका छन् । नवराज उप्रेतीले खिचेको गीतको भिडियोलाई बिकास धमलाले सम्पादन गरेका हुन् । गीतमा शिव विकको कोरियोग्राफी तथा निर्देशन छ । गीतको अडियो मात्र नभएर भिडियो पनि सुन्दर बनेको छ ।

पहिलो पटक लोकगीत गाएपछि हामीले गायक हेमन्त शर्मालाई पहिलोपटक गीत गाउनुको कारणबारे सोधेका थियौँं । उनले अरु केही कारण नभएर ‘समयको माग’ मात्र भने । गायक शर्माले भनेजस्तै समयको मागलाई दर्शकले भने कत्तिको रुचाउने हो, त्यो भने हेर्न बाँकी छ ।