६ चैत, एजेन्सी । सन २०१२ मा भारतको राजधानी नयाँदिल्लीमा बसभित्र भएको सामुहिक बलात्कारपछि हत्याका चार दोषीहरुलाई भोलि (शुक्रबार) फाँसी दिइने भएको छ । निर्भयाको बलात्कारपछि हत्या गर्नेमध्येका एक दोषी पवनले फाँसीबाट बच्ने अन्तिम अपिल अदालतले खारेज गरेसँगै उनीहरुलाई भोलि बिहान फाँसीमा झुण्ड्याइने भएको छ ।

पवनले अदालतमा गरेको अपिलमा आफूलाई नावालिग बताएका थिए । तर दिल्लीको उच्च अदालतले उनको अपिल खारेज गरेपछि उनी सर्वोच्चको ढोका ढक्कढकाउन पुगेका थिए तर सर्वोच्चले पनि उक्त अपिल खारेज गरिदिएको हो । ७ वर्षसम्म नावालिग नभनेको र अब भन्नुको कुनैपनि तुक नभएको भन्दै अदालतले उनको अपिल खारेज गरेको हो ।

अब चार दोषीहरु विनय, पवन र अक्षयले अन्तर्राष्ट्रिय अदालतमा आफूहरुलाई बचाउनको लागि अपिल पेश गरेका छन् । भोलि बिहान दिइने फाँसीको मिति पर सार्नको लागि उनीहरुले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गरेका हुन् । दोषीहरुले ७ वर्ष ३ महिना र ३ दिन जेलमा बिताइसकेका छन् । अन्तर्राष्ट्रिय अदालतको अर्को आदेश नआए उनीहरु चारैजनालाई भोलि बिहान ५ः३० बजे फाँसी दिइनेछ ।

उनीहरुले २०१२ डिसेम्बर १६ मा चलिरहेको बसमा एक युवतीलाई बलात्कारपछि हत्या गरेको एि । जसको नाम ज्योति सिंह हो । त्यो समयमा भारतको कानुनले मृत्यु भइसकेको भएता पनि बलात्कृत युवतीको नाम मिडियामा सार्वजनिक नपाइने नियमका कारण मिडियाले उनको सांकेतिक नाम निर्भया राखेका थियो । बलात्कारका कारण गम्भीर विरामी परेकी उनको २६ डिसेम्बरमा उपचारका क्रममा मृत्यु भएको थियो । ६मध्ये एक दोषीले तिहाड जेलमा आत्महत्या गरिसकेका छन् भने अन्य एक दोषी नाबालिग भएका कारण ३ वर्ष सुधार गृहमा बसेर छुटिसकेका छन् ।

निर्भया बलात्कार घटनाः दोषी अन्तर्राष्ट्रिय अदालत गएपछि फाँसीमा अलमल