९ माघ, एजेन्सी । भारतीय चर्चित रियालिटी शो ‘बिग बोस १३’ पछिल्लो केही हप्तादेखि विवादका कारण लगातार चर्चामा छ । सिजनको बढ्दो लोकप्रियकताका कारण निर्माताहरुले केही हप्ताको लागि शो लाई लम्ब्याउन चाहेका थिए । जबकी सुत्रलाई उद्धृत गर्दै भारतीय मिडियाहरुका अनुसार निमार्ताहरुले शो लम्ब्याउने योजना रद्द गरेका छन् । यसको मुख्य कारण सलमान खानको व्यस्तता मानिएको छ । फेब्रुअरी महिनाको दोश्रो हप्ता शो को फिनाले हुने पक्का भएको छ ।

शोसँग जोडिएको श्रोतले भनेको छ, ‘निर्माण टीमले सिजनको केही हप्ता बढाउन चाहेको कुरा नर्कान सकिँदैन । पछिल्लो सिजनभन्दा यो सिजनको रेटिङ राम्रो भएको कारणले पनि निर्माण टीमले केही हप्ता बढाउन चाहेको हो । तर सलमान खान आफ्नो फिल्म ‘कभी ईद कभी दिवाली’ को प्रि पोडक्सनमा एकदमै व्यस्त कार्यतालिका छ । त्यसको कारणले अहिले उनले बढाएका एपिसोडहरु होस्ट गर्न नभ्याउने देखिएको छ । सलमान खानले नै नभ्याउने भएपछि शो लाई लम्ब्याउने निर्माण टीमको योजना रद्द गर्नुपरेको हो ।’

उसो त यो शो पहिलेदेखि नै ५ हप्ता लम्ब्याइसकिएको छ । २९ सेप्टेम्बरदेखि शुरु भएको ‘बिग बोस १३’ जनवरीको पहिलो हप्ता सकिनेवाला थियो । अब यसको अन्त्य १५ फेब्रुअरीमा सकिने सम्भावना छ । यस अनुसार यो सिजनको कुल अवधि १ सय ४० दिन हुनेछ, जुन अहिलेसम्मकै सबैभन्दा लामो सिजन हुनेछ । उसो त यो सिजन नै एकमात्र सिजन हो जसमा १२ जना प्रतिस्पर्धीले वाइल्डकार्ड इन्ट्री पाइसकेका छन् ।