१९ मंसिर, सर्लाही । कविलासी नगरपालिकामा गढीमेलाबाट फर्किँदै गरेको ट्र्याक्टरबाट लडेर आज एक भारतीय नागरिकको मृत्यु भएको छ । मलङ्गवा–नवलपुर सडक खण्डअन्तर्गत कविलासी नगरपालिका–८ गैरबजार र सिरसियाको बीचमा ट्र्याक्टरबाट लड्दा भारत बिहार सितामढी जिल्ला कन्हौली ग्राम छोटी भाडसर निवासी अन्दाजी ३० वर्षीय पप्पु पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बारा जिल्लाको बरियारपुरबाट गढिमाइको दर्शन गरी फर्किने क्रममा बिआर ३० जे ३८७० नम्बर भारतीय ट्र्याक्टरबाट लड्दा गम्भीर घाइते भएका पासवानलाई मलङ्गवा अस्पतालमा उपचार गरी थप उपचारका लागि सितामढी लैजाने क्रममा बाटोमा नै मृत्यु भएपछि शव पोष्टमार्टमका लागि मलङ्गवा अस्पतालमा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ट्र्याक्टर चालक फरार भएका छन् भने ट्र्याक्टरलाई कविलासी प्रहरी चौकीले आफ्नो नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी प्रवत्तासमेत रहनुभएका प्रहरी नायब उपरीक्षक प्रतितीसिंह राठौरले जानकारी दिए ।

यसैबीच आजै सर्लाही सदरमुकाम मलङ्गवामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–११ गम्हरीयामा ना ४३ प ५६९१ नम्बरको मोटरसाइकलले पैदलयात्री मलङ्गवा नगरपालिका–७ निवासी ५५ वर्षीय धरिक्षण रायलाई आज दिउँसो साढे १२ बजे ठक्कर दिएको थियो ।

त्यस्तै मलङ्गवा नगरपालिकामा नालामा डुबेर एक बालकको ज्यान गएको छ । भारत बिहारको सितामढी जिल्ला घर भई हाल ससुराली मलङ्गवा नगरपालिका–१ भेडहियामा बस्दै आएका आवास नटको दुई वर्षीय छोरा सुवास नटको मामाघर अगाडिको नालामा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो । बालक मङ्सिर १७ गतेदेखि नै बेपता भएका थिए । बालकको खोजतलास गर्दै जाँदा नालामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । रासस