२६ मंसिर, रियाद । साउदी अरेबियामा नगर परिषदको निर्वाचनका लागि शनिबार बिहानैदेखि मतदान सुरु भएको छ ।

यस निर्वाचनको प्रमुख आकर्षणका रुपमा इतिहासमा नै साउदी अरेबियामा पहिलो पटक महिलाले पनि मतदान गर्न पाएका छन् ।

साउदी अरेबियाको यो निर्वाचन महिलाका लागि पनि खुला रहेको छ । महिला उम्मेदवार तथा महिला मतदाता भएर यो पहिलो पटक उनीहरुले निर्वाचनमा सहभागिता जनाएका छन् ।

महिला र पुरुषका लागि छुट्टाछुट्टै मतदानको व्यवस्था मिलाइएको छ । उनीहरुले आज बिहान ८ बजेदेखि नै मतदान सुरु गरेका राजधानी रियादबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Photo AFP

Photo AFP

एएफपी समाचार समितिका प्रतिनिधिले जनाएअनुसार शनिबार बिहान ८ बजे नै मतदानका लागि पुरुष मतदाता जम्मा भएका थिए । तर उनीहरुले त्यति बिहानै महिला मतदाता देखेको बारेमा भने केही बताएका छैनन् ।

साउदी जस्तो मुस्लिम राष्ट्रमा महिलालाई सवारी चलाउन, मतदान गर्न तथा अरु पनि कैयौँ कार्यमा प्रतिबन्ध लगाउदै आइएको थियो ।

तर पनि यसअघि नै अरु अरब मुलुकहरुले भने मतदानका लागि अनुमति पाएका थिए । महिलालाई मतदानमा अनुमति दिने यो नै अन्तिम देश हो भनिएको छ ।

मतदान शनिबार साँझ पाँच बजेसम्मका लागि हो । यो नगर परिषदको निर्वाचन हो । यो परिषदको निर्वाचन यसअघि सन् २००५ मा भएको थियो ।

सो निर्वाचन महिलाका लागि खुला थिएन । उनीहरुले मतदान गर्न तथा उम्मेदवार बन्न पनि पाएका थिएनन् ।

यस नगर परिषदको निर्वाचनमा कम्तीमा पनि ९०० जना महिला उम्मेदवार बनेका छन् । उनीहरुका विरुद्धमा करिब ६ हजार जना पुरुष उम्मेदवार रहेका बताइएको छ ।

स्थानीय विकास अधिकार रहेको सो परिषदको निर्वाचनमा २८४ जना उम्मेदवार उठेका छन् । यस परिषदले स्थानीय पूर्वाधारको विकासका साथै स्थानीय निकायको निर्माण गर्ने काम गर्छ ।

महिलालाई पनि मतदानको अधिकार दिएको विषयमा देशव्यापी रुपमा प्रचार नहुदा तथा महिला नै यसरी मतदानका विषयमा सुसूचित नहुदा यस पटकका लागि मतदाता महिलाको सङ्ख्या निकै थोरै रहेको पाइएको छ ।

महिला अधिकारकर्मीहरुले पनि यो निर्वाचनमा सरकारी कर्मचारी तथा निर्वाचनका कर्मचारीहरुका कारण महिलालाई निर्वाचनमा उम्मेदवार बन्न तथा मतदाता सूचीमा उनीहरुको नाम लेख्न पनि असहयोग गरेको आरोप लगाएका छन् ।

उनीहरुका अनुसार यस पटकको यस निर्वाचनमा महिला मतदाताहरुको सङ्ख्या दशमा एकजना वा त्यो भन्दा पनि कम रहेको बताएका छन् ।

विश्लेषकहरुले उम्मेदवारमध्येका अधिकांश महिला विजय पनि हुने अनुमान गरिएको बताएका छन् ।

जे होस पहिलो पटक नै दिइएको यो अधिकारलाई महिला अधिकारकर्मीका साथै सबैले राम्रो काम भन्दै सराहना नै गरेका छन् । रासस/एएफपी